जहाँ खाद्यान्नभन्दा मदिरा धेरै बिक्छ

Advertisement

डोटी । कलेनामा व्यापक रुपमा मदिरा बिक्री वितरण हुन थालेपछि जिल्ला प्रहरी कार्यालय डोटीले सो क्षेत्रमा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । उक्त क्षेत्रमा बिना अनुमतिपत्र मदिरा बेच्नेहरुलाई प्रहरीले पक्राउ गरी धमाधम कार्वाही गर्न थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए । उनले भने – “हामीले जिल्लाका सबै ठाउँमा मदिरा बिक्री वितरणमा कडाइ गरेका छौँ तर, कलेनामा बिहानै रक्सी खाने बढेपछि त्यहाँ अलि बढी कडाइ गर्न बाध्य भएका हौँ ।”

प्रहरीका अनुसार उक्त क्षेत्रमा मदिराकै कारण अहिलेसम्म एक दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् । प्रहरीले यहाँका गाउँ गाउँमा सामुदायिक प्रहरी सेवा गठन गरेर मदिरा सेवना लगायतका विसङ्गतिमा कमी ल्याए पनि कलेनामा खासै सुधार आउन नसकेको स्थानीयवासीको आरोप छ ।

यहाँका व्यापारीहरुको भनाइअनुसार डोटीमा विगतका वर्षदेखि ४० प्रतिशत खाद्यान्न तथा ६० प्रतिशत मदिरा बिक्री वितरण हुने गरेको छ । घरमा भएका कुखुरा, खसीबोका र अन्नपात बेचेर यहाँका स्थानीयवासीले मदिरा पिउने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाउँदै आएको छ । मदिराका कारण डोटीमा हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक घटनाहरु पटकपटक दोहारिइरहे पनि मदिरा बिक्री वितरण नियन्त्रणमा आउन सकेको छैन ।

Advertisement

Advertisement

Advertisement