भूमाफियाले टुँडिखेल पनि बेच्नसक्ने, सावधान रहन कमल थापाको आग्रह

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भूमाफिया टुँडीखेल नै बेच्नसक्ने अवस्थामा पुगेको बताएका छन्। काठमाडौं महानगरपालिका घेराउका क्रममा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सार्वजनिक सम्पत्ति हडप्ने योजनामा सरकारमै सामेल दलका नेतादेखि माफिया समूहका व्यक्तिसम्म सक्रिय रहेको बताए।

‘गिरोहले सरकारी सम्पत्ति ललितानिवास हडप्यो, भोलि टुँडीखेल पनि कब्जा गर्न बेर छैन,’ थापाले भने, ‘राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट हुँदा पनि सरकार मौन छ। यसविरुद्ध आम नागरिक जाग्ने बेला भयो।’ हायात, ललितानिवास, वाइडबडी जहाज खरिद, मेलम्चीलगायतका आयोजनामा अर्ब होइन, खर्बसम्मको घोटाला छ तर सरकार किन तिनका दोषीलाई कारबाही गर्दैन’, थापाले प्रश्न गरे, ‘२०४६ पछि सार्वजनिक पद धारण गरेका नेता÷कार्यकर्ता, कर्मचारीलगायतको सम्पत्ति छानबिन हुनुपर्छ, भ्रष्ट वा इमानदार को हो भन्ने स्पष्ट खुल्छ।’

बिहीबार राप्रपाले संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र स्थापनालगायत माग राख्दै पूर्वनिर्धारित विरोध कार्यक्रमअन्तर्गत ७ सय ५३ स्थानीय तह घेराउ गरेको थियो। विरोध कार्यक्रमअन्तर्गत अध्यक्ष थापाको नेतृत्वमा राप्रपाले सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालयमा घेराउ गरेको थियो।
नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement