कर्मचारीबीच समन्वयको अभावको वाइडबडी उडान रद्द भएको छानविनको निष्कर्ष

Advertisement

काठमाडौँ । नेपाल वायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूबीच समन्वय नहुँदा वाइडबडीको दुबई उडान रद्द भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । छानबिन समितिका संयोजक तथा सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वको समितिले यस्तो निष्कर्ष निकालेको हो ।

समितिले शुक्रबार प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको छ। सहसचिव लामिछानेका अनुसार, २७४ यात्रु राखेर दुबई उड्नु पर्ने निगमको बाइडबडी दुई निकायका पदाधिकारीहरुबीचको समन्वय अभावले उडान रद्द भएको देखिन्छ। 'मानवीय संवेदनासँग जोडिएको यो घटना दुई निकायबीच समन्वयमा भएको कमजोरीको उपज हो', प्रतिवेदन बुझाइसकेपछि सहसचिव लामिछानेले भने।

समितिलाई घटनाको कारण, दोषी पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन सुझावसहित पेस गर्न पर्यटन राज्यमन्त्रीस्तरीय निर्णयले अधिकार दिएको थियो। यो घटना चैत्र १९ गते राति भएको थियो। त्यस दिन ९ः१५ मा दुबई उड्नुपर्ने निगमको विमान १० घन्टापछि भोलिपल्ट बिहान ८ बजे उडेको थियो। छानबिन समितिले त्यस दिन ड्युटीमा रहेका नेपाल वायुसेवा निगमका विमानस्थलका कर्मचारी, यात्रु सेवा विभागका कर्मचारी, फ्लाइट डिस्प्याचर, ग्राउन्ड इक्युभमेन्ट सुपरभाइजरलगायतलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।

त्यसैगरी विमानस्थलको हवाई उडान सञ्चालन विभाग मातहत टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सहित डियुटीमा रहेका पदाधिकारीलाई पनि विभागीय कारबाहीको सिफारिस गरेको छ । छानबिन समिति यस घटनाको अध्ययनका क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलसहित दुबै निकायका २० हाराहारी कर्मचारीसँग अन्तर्वार्ता गरेको थियो। छानबिन समितिले कारबाहीसहित थप १९ वटा सुझाव पनि दिएको छ।

अध्ययन समितिमा मन्त्रालयका सहसचिव लामिछानेबाहेक, निगमका निर्देशक राजेशप्रसाद श्रेष्ठ, वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी र सदस्य सचिवमा प्राधिकरणका उपनिर्देशक विक्रमराज गौतम थिए।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement