साञ्जेनको आईपिओमा मागभन्दा दुई गुणा बढिको आवेदन, रसुवागढीमा कति पर्न बाँकी?

Advertisement

काठमाडौं । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको उच्च आर्कषण देखिएको छ। बैशाख ६ गते शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेका साञ्जेनको आईपिओमा आइतबार साँझसम्ममा ४८ लाख कित्ताका लागि आवेदन परेको छ भने रसुवागढी हाइड्रोपावरमा हालसम्म ६० प्रतिशत आवेदन परेको छ । साञ्जेनको आइपीओमा दुई दिनमै १.२७ गुणा बढी आवेदन परेको हो ।

माग अनुसार सान्जेन जलविद्युतलाई करिब अब १ लाख ८२ हजार २५० कित्ताको मात्र आवेदन आवश्यक देखिन्छ ।रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा ५५ लाख ९४ हजार ७२० कित्ताका लागि आवेदन परेको छ ।

यसअनुसार अब रसुवागढी हाइड्रोपावरको १९ लाख ६९ हजार कित्तामा २३७ कित्ता शेयरमा मात्रै आवेदन पर्न बाँकी रहेको छ भने साञ्जेनमा धेरैले आवेदन दिएका छन् । यसअनुसार सोमबार र मंगलबारमा दुबै कम्पनीको शेयर ओभरसब्सक्राइब हुने सम्भावना देखिन्छ।

साञ्जेनले सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्तामा आवेदन माग गरेको हो। कूल निष्काशित ५४ लाख ७५ हजार कित्तामध्ये २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको छ ।

रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ४ प्रतिशत (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताले मेरो शेयर सफ्टवेयरबाट अनलाईन आवेदन र धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

दुबै कम्पनीको शेयरमा यसअघि नै आवेदन दिइसकेका संस्थापक शेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले भने यस निष्काशनमा आवेदन दिन पाउने छैनन् ।

आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले भने हाल आवेदन दिन पाउनेछन् । तर अहिले निष्काशन गरिएको आईपिओमा आवेदन दिने स्थानीयले भने यसपछि निष्काशन हुने स्थानीयका लागि निष्काशन हुने शेयरमा फेरि आवेदन दिन पाउँदैनन् ।

दुबैमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपियाँदेखि आवेदन गर्न सकिन्छ। साञ्जेनमा आईपिओमा अधिकतम २ हजार कित्ता र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न पाउने ब्यवस्था छ । यद्यपी लगानीकर्ताको चापले ५० कित्ताको आवेदन नै शेयर पाउन पर्याप् देखिन्छ ।

पछिल्लो समय सरकारले ‘जनताको जलविदुत कार्यक्रम’ मा दुबै आयोजनालाई समेटेको भएपनि जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो किस्तामा १० रुपियाँको दरले आवेदन दिन मिल्ने व्यवस्था रहेपनि दुबै आयोजनाको निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी सकिसकेकाले शतप्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ।

रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट र साञ्जेनले निमार्ण गरिरहेको अपर साञ्जेनको १४.८ मेगावाट र साञ्जेन जलविद्युत आयोजनाको क्षमता ४२.५ मेगावाट छ । साञ्जेनका दुबै आयोजनाहरु २०७६ पुस मध्यसम्म र रसुवागढी जलविद्युत आयोजनाले २०७६ फागुनदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने प्रक्षेपण छ।

सान्जेनको जारी पुँजी ३ अर्ब ६५ करोड रुपियाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी ३ अर्ब २५ करोड ५० लाख रुपियाँ पुग्नेछ । बाँकी रकम बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई जारी हुनेछ । दुवै कम्पनीले स्थानीय बासिन्दाका लागि भने आइपीओ जारी गर्न नै बाँकी छ । सन्जेनको आयोजना निर्माण लागत कुल ८ अर्ब ६५ करोड रुपियाँ छ । प्रतिमेगावाट लागत भने १५ करोड रुपियाँ छ ।

त्यस्तै, रसुवागढीको जारी पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपियाँ रहेको छ । यसको १५५ सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो । आइपीओ बिक्री गरी चुक्ता पुँजी ६ अर्ब १५ करोड रुपियाँ पुग्नेछ ।

रसुवागढीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई र सनराइज क्यापिटल छन्।

यस्तै, साञ्जेन जलविद्युत्को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशन तथा विक्री प्रबन्धक सनराइज र एनएमबि क्यापिटललाई तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement