खुला मञ्चका सटर हटाउन माग गर्दै महानगरपालिकाका उपमेयरलाई ज्ञापनपत्र

Advertisement

काठमाडौं । काठमाडौँ उपत्याकामा रहेका खाली जग्गा भू माफियाले अतिक्रमण गरेको भन्दै खुला मञ्च बचाउ अभियानको टोलिको नेतृत्वमा संयोजक सुसन वैद्यले काठमाडौं महानगरपालिकाका उपमेयरलाई ज्ञापनपत्र बुझाएका छन् ।

संयोजक वैद्यले महानगरपालिकाले सहरको परिचय र वातावरणलाई छोडेर पुर्वाधार र आर्थिक काममा मात्रै अगाडी सारेको बताउँदै टुडिखेलको खाली जग्गा अतिक्रमण गरी निर्माण गरिएका सटरहरु हटाउन महानगरपालिकासँग माग गरेका छन् ।

विपद व्यवस्थापनका बेलामा सबैभन्दा पहिला चाहिने भनेको खुला क्षेत्र हो । यस क्षेत्रमा सटर बनाउँदा क्षणिक लाभमात्रै हुने संयोजक वैद्यले बताए । उनले भने,‘महानगरले सरकारी जग्गा बेचेर व्यापारिक केन्द्र बनाउन पाउँदैन, खुला क्षेत्र खुला नै रहनुपर्छ खुला क्षेत्र भनेको विपद व्यवस्थापनको लागि मात्र हो ।’

संयोजक वैद्यले यस विषयमा महानगरपालिकालाई यसअघि पनि विभिन्न माध्यमबाट ध्यानाकर्षण गराएपनि महानगरपालिकाले भने केहि वास्ता नगरेको बताए । उनले महानगरपालिकाले मौखिक रुपमा सटर निर्माणको अनुमति दिएको जानकारीमा आएको जनाए । उक्त निर्माण कार्यलाई यथाश्रिघ रोकी खुला ठाउँ अतिक्रमित हुनबाट रोक्न महानगरपालिका र मेयरको हस्तक्षेपकारी भूमिकाको अपेक्षा सहित उक्त ज्ञापनपत्र बुझाएको बताए ।

खुला मञ्च बचाउ अभियानको टोलिले उनिहरुको माग वैशाख अन्त्यसम्म पनि सुनुवाई नभएको अवस्थामा निमार्ण कार्य र खुला ठाउँ अतिक्रमण हुनबाट रोक्न चरणबद्ध आन्दोलनमा जाने र आन्दोलनका क्रममा कथमकदाचित भौतिक क्षति भएमा त्यसको सम्पूर्ण जिम्मा महानगरपालिकाको हुने कुरा पनि ज्ञापनपत्र मार्फत जनाएका छन् ।

 

 

Advertisement

Advertisement

Advertisement