बस टिकट काउन्टरमा कार्यरत कर्मचारीलाई अनिवार्य पोशाक

Advertisement

काठमाडाैं । सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीको छलफल अनुसार अब सार्वजनिक बसका टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त आयोजनामा उक्त अभियान सोमबार नयाँ बसपार्कबाट सुरू गरिएको छ । सोही अवसरमा पश्चिम क्षेत्रमा जाने बस टिकट काउन्टरमा कार्यरत १५० भन्दा बढी कर्मचारीले पोशाक लगाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि उक्त अभियान सुरू गरिएको बताए । ‘नयाँ बसपार्कबाट सुरु भएको यो अभियानलाई देशभर लैजान्छौँ,’ उनले भने, ‘देशभरमा सञ्चालित बस काउन्टरमा कार्यरत कर्मचारीलाई अनिवार्य पोशाक लगाउन आग्रह गर्दछु ।’

पोशाकसँगै परिचय पत्रसमेत अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले पोशाक सुरु भएसँगै यात्रुहरु नठगिने बताए ।

दशैँ, तिहारलगायतका पर्वमा कर्मचारीभन्दा विचौलियाबाट यात्रु ठगिने भएकाले पोशाक व्यवस्थापनसँगै उक्त समस्या हट्नेछ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख तथा काठमाडौं उपत्यकामा ११ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement