अर्थमन्त्रीले दातृ निकायलाई भने– नेपालमा स्थिर र पारदर्शी सरकार बनेको छ, लगानी गर्नुहोस्

Advertisement

अर्थमन्त्री युवराज खतिवडाले एसियाली विकास बैंकको ५२औं बोर्डस् अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजीको नादीमा बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १३औं बैठकको अध्यक्षता गरे ।

बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाको आर्थिक विकासमार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताए ।

खतिवडाले दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउदै गएको तर अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने संभावना भए पनि पाँच प्रतिशतभन्दा माथि पुग्न नसकेको बताए ।

उनले नेपालले इतिहासमै लगातार तेस्रो बर्षसम्म ६ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि हासिल गर्न सफल भएको भन्दै लगातार उच्च आर्थिक बृद्धि हासिल गरिरहँदा व्यापार घाटा र बाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको बताए ।

आगामी दिनमा उच्च आर्थिक बृद्धि र बाहय क्षेत्र सन्तुलनकाबीच सामन्जस्यता कायम गर्न सरकारले ध्यान पुर्याउने खतिवडाको भनाई छ । आजै एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्च पदस्थ अधिकारीहरुसँग भएको बेग्ला बेग्लै द्विपक्षीय बैठकहरुमा खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल बातावरण निर्माण गर्न गरिएका सुधारहरुको बारेमा जानकारी गराए ।

नेपालमा उच्च आर्थिक बृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको कार्यान्वयन गर्न, संविधानप्रदत्त मौलिकहकहरुको कार्यान्वयन गर्न, भूकम्पपछिको पुनर्निर्माणः खासगरी आवास र विद्यालय भवनहरुको पुनर्निर्माणको कार्यसम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदान गर्न आग्रह गरे ।

मन्त्री खतिवडाले नेपालमा लोकतान्त्रिक, स्थिर र पारदर्शी सरकार गठन भएकोले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए । उनीसँग भएका ती बैठकहरुमा नेपालको आर्थिक बृद्धि र नेपाल सरकारले शुरु गरेका सुधारका कार्यहरुप्रति उत्साहित हँुदै विकास साझेदारका प्रतिनिधिहरुले नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement