त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन आइतबारबाट परीक्षण

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत जोडिने त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन आइतबारबाट परीक्षण गर्ने भएको छ । प्राधिकरणले निर्माण सम्पन्न ४५ किलो मिटर लामो प्रसारण लाइनको परीक्षण गर्न लागेको हो ।

प्रसारण लाइनको १ सय ४१ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएपछि परीक्षण गर्न लागिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए । उनका अनुसार परीक्षण पश्चात प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आउनेछ । त्रिशूली ३ 'ए' को विद्युत उत्पादन सुरु गर्नु अघि प्रसारण लाइन परीक्षण गरेर तयारी अवस्थामा राख्न लागिएको पनि उनले बताए ।

प्रसारण लाइनको १ हजार ३ सय ९ मिटर संरचना भूमिगत छ । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा त्रिशूली ३ ए र प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक ग्रुप (सिडब्ल्युइ) ले प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ । त्रिशूली ३ ‘ए’ को विद्युतगृहदेखि त्रिशूली ३ 'बी' हबसम्म १३२ केभी र हबदेखि मातातीर्थ सबस्टेसनसम्म २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको जोशीले जानकारी दिए ।

प्रसारण लाइनमा पूरा भएपछि त्रिशूली ३ ए सँगै रसुवा र नुवाकोटमा निर्माणाधीन रसुवागढी, सान्जेन, त्रिशूली ३ ‘बी’ लगायत साना ठूला आयोजनाको विद्युत सोझै काठमाडौं आइपुग्नेछ । परीक्षण सुरु हुन लागेकाले प्रसारण लाइनको टावर, अर्थिङलगायतका संरचनामा नछुन तथा लाइनको मध्य भागको देर्बे र दाहिनेतर्फ १५/१५ मिटर क्षेत्रमा नजान स्थानीय सर्वसाधारणलाई आयोजनाले अनुरोध गरेको छ ।

त्रिशूली ३ ‘ए’ आयोजना पनि अहिले परीक्षणको चरणमा छ । विद्युतगृहमा पानी खसालेर पहिलो युनिट ‘नो लोड’ मा परीक्षण भइरहेको छ । परीक्षण पूरा भएपछि २ सातामा आयोजनाबाट विद्युत उत्पादन सुरु हुँदैछ । प्रसारण लाइन र आयोजना सम्पन्न गर्न प्राधिकरणले १२ अर्ब १२ करोड रुपियाँ खर्च गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement