प्रधानमन्त्री ओलीले संसदमा बोलेका अमर्यादित शब्द हटाउन सभामुख महाराको निर्देशन

Advertisement

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार संसदमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिँदा प्रयोग भएका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइने भएको छ। सभामुख कृष्णबहादुर महाराले शुक्रबार संसदको कारबाही शुरु गर्दा शुरुमै प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द हटाउन निर्देशन दिएका छन्।

‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु। नेपाल सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले स्पष्टिकरण तथा सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ सभामुख महराले भने।

नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका सांसदले ती शब्द संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसदिन सो बारेमा सभामुखले कुनै निर्देशन नगरेपछि कांग्रेसले बैठक अवधिभर नै नाराबाजी गरिरहेको थियो। नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो।

त्यसपछि प्रधानमन्त्री ओली काँग्रेसको निशानामा पर्दै आएका थिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार वीरगञ्जको एक कार्यक्रममा प्रधानमन्त्रीले संसदमा बोलेको विषयमा माफी माग्नुपर्नेसमेत बताएका थिए।

काँग्रेसले सभामुख महराको भूमिकामाथि पनि प्रश्न उठाएको थियो। सभामुख महरामा सत्तारुढ दलको छायाँ परेको भन्दै संसदीय मर्यादा कायम गर्न सभामुखसँग माग गरेको थियो । संसदमा सभामुख र प्रतिपक्षीबीच सम्बन्ध खराब हुँदै गइरहेको बेला शुक्रबार भएको निर्देशनले संसदको वातावरण सुधार हुने अपेक्षा गरिएको छ।

Advertisement

Advertisement

Advertisement