काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ महिनाभित्र प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जर तथा एक्वायरमा जान अल्टिमेटम दिएको छ । सैद्दान्तिक समझदारी गरेको ८ महिनापछि डिमर्जमा जाने निर्णय गरेका यी बैंकहरुलाई राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कुनै संस्था खोजेर ३ महिनाभित्र मर्जरमा जान अल्टिमेटम दिएको हो ।
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार–‘प्राइम र ओमलाई दिएको एक्विजिशनको सैद्दान्तिक सहमति खारेज गर्दै आगामी तीन महिनाभित्र अर्को संस्था खोजेर मर्जर वा एक्विजिसनमा जान अल्टिमेटम दिएका छौं, ।’
राष्ट्र बैंक एन दफा १०० को अधिकार प्रयोग गरी यस्तो कारबाही गर्ने निर्णय गरिएको स्रोतले जानकारी दियो । तीन महिनासम्म राष्ट्र बैंकबाट पाउने पुनःकर्जा लगायतका सुविधा उपलब्ध नगराउने सञ्चालक समितिले निर्णय गरेको छ ।
दुबै संस्थाले प्रक्रिया अवरुद्ध हुनुमा एकअर्कालाई दोष लगाएका छन् । एक्विजिसन प्रक्रिया सक्नका लागि राष्ट्र बैंकले यही बैशाख १३ गतेसम्मका लागि समय दिएको थियो । उक्त मितिमा दुबै बैंकले अलग हुनका लागि आवेदन दिएका थिए ।
प्रक्रिया तोडे राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिँदादिँदै पनि यी संस्थाले अलग हुने निर्णय गरेका हुन् । गत भदौ ३ गते दुबै बैंकका अध्यक्षले एक समारोहबीच एक्विजिसन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।