सरकारले पहिलो पटक सार्वजनिक गर्यो सहकारी बैंक स्थापना हुने गरी ल्याइएको नियमावली

Advertisement

काठमाडौं । सरकारले पहिलो पटक सहकारी बैंक गठन गर्ने व्यवस्था सहितको ल्याएको सहकारी नियमावली–२०७५ लाई सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीसमेतको उपस्थितिमा मन्त्रालयमा गरिएको एक कार्यक्रमबीच उक्त सहकारी नियमावली जारी गरेको हो ।

सो नियमावली अनुसार पाँच सय एक वटा सहकारी संघ, संस्थालाई मिलाएर सबै प्रदेशमा पहिलो पटक सहकारी बैंक स्थापना हुने गरी ‘सहकारी नियमावली–२०७५’ ल्याएको हो ।

सबै प्रदेशमा रहेका सहकारी संस्थाहरुलाई मिलाएर पहिलो पटक सहकारी नियमावली बनाइएको सहकारी विभागले जनाएको छ । नियमावलीमा सहकारी संस्थाहरुको स्थापना जनसंख्याको अनुपातमा गर्ने व्यवस्था पनि गरिएको छ।

गरिवी निवारण गर्ने, रोजगारीको अवसर सृजना गरी मुलुकलाई सहकारी संस्थाहरुमार्फत् पनि समृद्ध बनाउने योजनालाई साकार पार्ने उद्देश्यका साथ ल्याएको सो नियमावलीमा महानगरपालिकामा पाँच हजार, नगरपालिकामा दुई हजार र गाउँपालिकामा पाँच सय जनसंख्या भएको ठाउँमा बचत तथा ऋण सहकारी संस्था स्थापना गर्न सकिने पनि स्पष्ट व्यवस्था गरिएको छ ।

सो नियमावलीमा उत्पादक, उपभोक्ता, वित्तीय, श्रमिक र बहुउद्देश्यीय सहकारी मात्रै खोल्न पाउने व्यवस्था पनि गरिएको छ। पाँच करोड भन्दाबढी बचत नगर्ने सहकारीहरुलाई तिन वर्ष भित्र एकीकरण गर्ने पनि नियमावलीमा व्यवस्था गरिएको छ ।

नियमावलीमा ५० करोडभन्दा बढी कारोबार भएका सहकारी संस्थाहरुको सहकारी विभाग एक्लैले अनुगमन गर्ने तथा ऋणको व्याजदर छ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था पनि गरिएको छ।

लामो समयको कसरतमा ल्याइएको उक्त नियमावली प्रति सहकारी क्षेत्रको आंशिक समर्थन देखिएको छ । पूर्ण सहकारीमैत्री नीति नभएको भन्दै सहकारीकर्मीहरूले उक्त नियमावलीको सांकेतिक विरोध समेत गरेका छन् ।

Advertisement

Advertisement

Advertisement