सहुलियत कर्जाका लागि बैंकहरुको २५ अर्ब ३२ करोड लगानी

Advertisement

काठमाडौं । सरकारले ब्याज अनुदान दिने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत बैंक तथा वित्तीय संस्थाले चैत्र मसान्तसम्म २५ अर्ब ३२ करोड रुपियाँ कर्जा प्रवाह गरेका छन्।

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत विभिन्न ७ विधामा ५ प्रतिशत बिन्दुले ब्याज अनुदान दिँदै आएकोमा सबैभन्दा बढी ऋण व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जाअन्तर्गत प्रवाह भएको छ।

व्यवसायिक तथा पशुपन्छीतर्फ १४ हजार ६३९ जनालाई बैंक तथा वित्तीय संस्थाले २५ अर्ब १८ करोड ३१ लाख ८ हजार रुपियाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकले १४ हजार २१२ जनालाई २३ अर्ब ६१ करोड ८८ लाख ८२ हजार रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, विकास बैंकहरुले ४ जनालाई १९ लाख ५७ हजार रुपियाँ कर्जा प्रवाह गरेका छन् । चैत मसान्तसम्ममा १५ जनाले दलित समुदाय व्यवसाय विकास कर्जा लिएका छन् । जसमा वाणिज्य बैंकहरुले ११ जनालाई ५६ लाख ९९ हजार कर्जा प्रवाह गरेका छन् भने ‘विकास बैंकहरुले २ जनालाई १२ लाख १६ हजार र फाइनान्स कम्पनीले २ जनालाई ९ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि २७ जनाले ७२ लाख ४४ हजार रुपियाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा वाणिज्य बैंकहरुले २३ जनालाई ६१ लाख २४ हजार विकास बैंकहरुले ४ जनालाई ११ लाख १९ हजार रुपियाँ कर्जा प्रवाह गरेको बताइएको छ ।

राष्ट्र बैंकले ब्याज अनुदान कार्यविधिबाट बैंक तथा वित्तीय संस्थामार्फत ब्याज अनुदानमा व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजकार कर्जा, वैदेशिक रोजगारीबाट फर्केकालाई कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदायका लागि व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिने व्यवस्था गरेको छ।

महिला उद्यमशीलताका लागि अधिकतम १५ लाख र व्यावसायिक कृषि तथा पशुपंक्षी पालनका लागि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा दिने व्यवस्था छ। महिला उद्यमशील कर्जामा ६ प्रतिशत र अन्य सबै प्रकारका कर्जामा ५ प्रतिशतबिन्दूले ब्याज अनुदान दिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार शिक्षित युवा स्वरोजगार कर्जा ६ जनाले २५ लाख रुपियाँ मात्रै लिएका छन् । यो कर्जा वाणिज्य बैंकहरुले मात्रै दिएका छन् ।

सहुलियत कर्जा कार्यक्रम अन्तर्गत, सबैभन्दा बढी ऋण वाणिज्य बैंकबाट कुल २३ अर्ब ७५ करोड रुपियाँ प्रवाह भएको छ। विकास बैंकबाट एक अर्ब ४९ करोड र वित्त कम्पनीबाट ७ करोड ४२ लाख रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

 

Advertisement

Advertisement

Advertisement