समावेशी बजेट ल्याउन माग

Advertisement

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले अपाङ्गता भएका व्यक्ति, जनजाति, दलित र महिलालगायतलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद रमेशप्रासद यादवले मधेशी, जनजाति, दलित समुदायलाई उपेक्षा गरेर देश विकास हुन नसक्ने बताए। जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उनको भनाइ थियो ।

सांसद खेमराज नेपालीले विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले उज्यालो देखाएको दाबी गर्दै देशमा दिगो विकास, शान्ति, समृद्धि र स्थायित्वलाई बजेट विनियोजनले समेटेको बताए ।

सांसद प्रकाश पन्थले जनतालाई अनूभूति हुने गरी बजेट आउनुपर्ने बताउदै सुशासन कायम गर्ने बजेटको प्रमुख लक्ष्य हुनुपर्ने बताए । अपाङ्गता भएका बालबालिका अझै पनि विद्यालय बाहिर रहेकाले प्रभावकारी कार्यक्रम ल्याउन उहाँले माग गरे। अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र सहयोगी सामग्रीका बारेमा प्रस्ट कार्यक्रम आउनुपर्ने सांसद पन्थको भनाइ थियो ।

सांसद रामचन्द्र राईले कृषिमा सिँचाइ, मलको व्यवस्थालाई बजेटले समावेश गर्नुपर्ने बताए। सिमान्तकृत आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहमा ल्याउने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ थियो । सांसद रामप्रीत पासवानले वियोजन विधेयकको नाममा पुरानैलाई निरन्तरता दिइएको बताउदै वैदेशिक रोजारीमा जानेलाई ऋण दिने व्यवस्था गर्नुपर्ने माग राखे ।

Advertisement

Advertisement

Advertisement