तिङ्ला सवस्टेशन निर्माण सम्पन्न

Advertisement

काठमाडौं। सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाएका कारण एकपछि अर्को गर्दै सफलताका उदाहरण सार्वजनिक हुँदै आएका छन्। लामो समयसम्म समस्यामा फसेका रुग्ण आयोजना सम्पन्न भएका छन् भने प्रसारण लाइनको काम समेत निरन्तर अगाडि बढेका छन्।

रुग्ण आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली थ्री ए ले परीक्षण उत्पादन गरिरहेको छ। नुवाकोट–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनसमेत परीक्षण प्रसारण भइरहेको छ। लामो समयसम्म समस्यामा फसेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्डको निर्माण सम्पन्न भई प्रसारण शुरु गर्ने अवस्थामा पुगेको छ।

आगामी दुई साताभित्र कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने तयारी गरेको छ। यसै क्रममा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेकोे सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन १३२ केभी क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरको अनुगमन तथा सक्रियताका कारण सव स्टेशन निर्माण सम्पन्न भएको हो। एक पछि अर्को गर्दै समस्यामा फसेका आयोजना सम्पन्न हुन थालेपछि प्राधिकरणले निजी क्षेत्रका व्यवसायीलाई तिर्नुपर्ने हर्जनामा समेत नपर्ने भएको छ।

सव स्टेशन चार्ज गर्न सकिने अवस्थामा पुगेको र बढीमा १० दिनभित्र चार्ज हुने अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ। सव स्टेशन निर्माण सम्पन्न भएपछि सोलु खोलामा निर्माणाधीन २३।५ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् समेत सहज रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने भएको छ।

अल्पकालीन व्यवस्था गरेर माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने बाध्यताको समेत अन्त्य भएको आयोजनाले जनाएको छ। सो सव स्टेशन सञ्चालनमा आएसँगै सोलुखुम्बुमा समेत राष्ट्रिय ग्रीड जोडिएको छ।

सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनामा आयोजना प्रमुख जनार्दनप्रसाद गौतमका अनुसार ‘सव स्टेशन रेडी फर चार्ज’ को अवस्थामा पुगेको छ। यस्तै चार दशमलब पाँच किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी सव स्टेशन चार्ज गर्ने तयारीमा रहेको गौतमको भनाइ छ।

सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माणको काम समयमै नसकिने भएको छ। सो प्रसारण लाइन समयमै नसकिए नेपाल विद्युत् प्राधिकरणले निजी ऊर्जा प्रवद्र्धकलाई वार्षिक रु एक अर्ब ३८ करोड रकम क्षतिपूर्तिवापत तिर्नुपर्ने सम्झौतामा उल्लेख छ।

सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाट क्षमताका छ जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको आगामी नौ महीनाभित्र सम्पन्न हुने चरणमा पुगेका छन्।

प्राधिकरण र प्रवद्र्धकबीच भएको विद्युत् खरीद सम्झौताअनुसार प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था भएकाले पनि प्राधिकरण प्रसारण लाइन निर्माणलाई गति दिन लागिपरेको छ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम यसै वर्षको मार्चमा सकिनुपर्ने भए पनि निजी प्रवद्र्धकको अवस्थालाई हेरेर थप दश महीना म्याद थप गरिएको थियो।

तिङ्ला–ओखलढुङ्गा–उदयपुर–मिर्चैया सिराहासम्म कूल ९० किलोमिटर लामो प्रसारण लाइन आयोजनामा ३०३ टावर निर्माण गर्नुपर्नेछ। त्यसमध्ये हालसम्म १६० टावर खडा गरिएको छ। वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्यासमेत समाधान भएको छ। सोलुखुम्बु र ओखलढुङ्गामा वन कटानको विषयमा सहमति भइसकेको र निर्माण व्यवसायीले विभिन्न १८ स्थानमा जनशक्ति परिचालन गरी काम गरिरहेको आयोजना प्रमुख गौतमले जानकारी दिए।

आगामी दश महीनाभित्र प्रसारण लाइनको निर्माण सम्पन्न हुने गरी गति दिइएको उनको भनाइ छ। प्राधिकरणले सोलु करिडोर प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई निरन्तर ताकेता गर्दै आएको छ।

सो प्रसारण लाइन निर्माणको ठेक्का भारतको मोहना इनर्जीले पाएको छ। प्रसारण लाइन निर्माणमा संलग्न ठेकेदार कम्पनीले प्रभावकारी काम नगरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले पटक÷पटक स्थलगत अनुगमन गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएको थियो।

सोलुमा निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको भन्दै प्रवद्र्धकले आपत्ति जनाएपछि मन्त्रालय र प्राधिकरणले ताकेता गरेको हो।

सिराहा र उदयपुरबाट काम शुरु भएको भए पनि धेरैजसो स्थानमा वन क्षेत्रको जग्गा प्रयोगमा समस्या देखिएको थियो। मन्त्रालय र प्राधिकरणको प्रयासपछि वन क्षेत्रको जग्गा प्रयोगमा केही सहजता आएको हो। निर्माण व्यवसायी मोहन इनर्जीले गत वर्षको पुस मसान्तसम्म तिङ्लामा सव स्टेशन बनाइसक्ने प्रतिबद्धता जनाएको भए पनि पाँच महीनापछि सम्पन्न गरेको हो।

ठेकेदार छनोटका क्रममा नै विवाद भएपछि प्रसारण लाइन निर्माणको काम एकवर्ष पहिलेदेखि मात्रै शुरु भएको हो। प्राधिकरणले सोलु करिडोर निर्माणमा ढिलाइ हुने देखेपछि माथिल्लो सोलुको विद्युत् जोड्नका लागि वैकल्पिक व्यवस्थाका रुपमा ओखलढुङ्गाबाट ३३ केभी प्रसारण लाइन निर्माण गरेको हो।

कूल ‘२३।५ मेगावाट क्षमताको माथिल्लो सोलु आयोजना आगामी केही समयभित्रै सम्पन्न हुनेछ। प्रसारण लाइन तथा सव स्टेशन तोकिएको समयमा बनाउन नसकेर विद्युत् खेर जाने अवस्था आएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नुपर्ने हर्जना रकम ठेकेदारबाटै असुल गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको थियो।रासस

Advertisement

Advertisement

Advertisement