मेनपावर कम्पनीलाई विवरण अद्यावधिक गर्न समय थप, अन्तिम म्याद शुक्रबारसम्म

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप गरेको छ । विभागले इजाजत प्राप्त मेनपावर कम्पनीलाई यही वैशाख २३ देखि २९ गतेसम्म आफ्नो कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो ।

तोकिएको समयावधिभित्र विवरण अद्यावधिक गर्न नसकेका मेनवापर कम्पनीको आग्रहमा विभागले पुनःम्याद थप गरेको हो ।

विभागले विवरण अद्यावधिक गर्न छुटेका मेनपावर कम्पनीले आगामी जेठ ३ गतेसम्म विवरण भर्न सक्ने जनाएको छ । थप गरिएको समयवधिभित्र विवरण अद्यावधिक नगरेमा त्यस्ता मेनपावर कम्पनीको अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोवार बन्द गरिने विभागले चेतावनी दिएको छ ।

विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ । ८० भन्दा बढी मेनपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अद्यावधिक नगरेको विभागले जनाएको छ ।

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन् । मेनपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ ।

Advertisement

Advertisement

Advertisement