पाल्पाको ढाका र करुवा व्यवसाय धरापमा

पाल्पा । ढाका तथा करुवा पाल्पाको पहिचान हो । तर पाल्पामा पछिल्लो समय ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ कि पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताइन् ।०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको उनले गुनासो गरिन् । श्रीमानको जागिर भारतमा हुँदा त्यही बसेर दुई वर्षसम्म चर्खा बेर्ने र हातले तान बुन्ने सीप सिकेकी पूर्णमायाले पाल्पामा आएर सबैलाई सीप सिकाएकी थिइन् ।कुनै बेला पाल्पामा एक हजार ५०० बढी कामदारलाई रोजगारी दिएकी महर्जनलाई अहिले भने आफ्नो कारखाना नै शून्य लाग्छ । पहिले–पहिले बिहेको लगन आउने बित्तिकै चोलो पछ्यौरा तथा टोपी किन्नेको पसलमा घुइँचो लाग्ने गरेको उनले स्मरण गरिन् । पाल्पाको तानसेनमा स्वदेशी वस्त्रालय पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गरेर विगत छ दशकदेखि सेवा दिएको स्मरण गर्दै उनले भनिन्, ‘अहिलेका व्यापारीले बाहिरबाट ल्याएको ढाकालाई पाल्पाली भनेर बेचेको देख्दा दुःख लाग्छ ।’ उनले पाल्पाली ढाकाजस्तो असली ढाका बाहिरबाट ल्याएका ढाका नहुने बताइन् ।पाल्पाली ढाकाजस्तै पाल्पाको छुट्टै पहिचान दिने पाल्पाली करुवा पनि लोपोन्मुख अवस्थामा छ । पहिले तानसेन टक्सारटोलमा २५ घरपरिवारले व्यावसायिकरूपमा सञ्चालन गरेको करुवा तयार पार्ने व्यवसाय अहिले तीन घरमा सीमित बनेको छ ।करुवा बनाउने तालिम र कामसमेत दिने भने पनि यसतर्फ कसैको ध्यान नगएको करुवा उद्योगका सञ्चालक उत्तमकुमार बज्राचार्यले गुनासो गरे । उनले भने, ‘करुवा बनाउन चाहिने कोइला र काँचको अभाव त छ तर अभावका बीच व्यवसायमा काम दिन्छु भन्दा पनि कसैले चासो दिँदैनन् ।’घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले भने पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले ढाका तथा करुवाको माग बढी भए पनि आधुनिक तवरबाट सीप हस्तान्तरणको आवश्यकता रहेकोमा जोड दिए ।‘पटकपटक व्यवसाय संरक्षणमा पहल गरिरहेका छौँ, तर सफल हुनसकेका छैनौं’, अधिकृत गैरेले भने । पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्‍याउन नसके लोप हुने स्थानीयवासी चिन्ता व्यक्त गर्छन् ।