बेइजिङ एक्स्पोको नेपाल मण्डप एक लाखले अवलोकन गरेको आयोजकको भनाई

Advertisement

काठमाडौं । चीनको राजधानी बेइजिङमा जारी एक्स्पो २०१९ मा राखिएको नेपाली मण्डप एक लाख दर्शकले अवलोकन गरेको आयोजकले दावी गरेको छ ।

चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १५ गते लोठ सल्लाको विरुवा रोपेर उद्घाटित नेपाली मण्डप हालसम्म एक लाख दर्शकहरुले अवलोकन गरिसकेको आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए ।

‘हरित जीवनः उत्तम जीवन’ नारासहित आयोजित सो विश्व प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरिएको छ ।

१५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल भूर्ति बीचमा राखेर नेपालको कृषि, वन वनस्पति सम्पत्तिको शोधखोज एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजनाहरु भित्राउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भएको आयोजकको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाहरुको नेपाल भ्रमण प्रतिको बढ्दो मोहलाई लक्षित गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा पनि यथेष्ट ध्यान दिइएको जनाउँदै ग्रुपले असोज २ गते उक्त एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनिया टोलीबीच औपचारिक कार्यक्रमहरु आयोजना हुने र सोही अवसरमा नेपाली कला कौशल संस्कृति झल्कने नाचगान, संगीतका कार्यक्रमहरु नेपाली रैथाने परिकार पस्कने खाद्य महोत्सवको आयोजना हुने पनि बताएको छ ।

एक सय दश राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्थाहरु सहभागी यस विश्व प्रदर्शनी पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । आउँदो कात्तिकसम्म चल्ने सो एक्स्पो १६ करोडले प्रत्यक्ष तथा विश्वव्यापी रुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रन्यक्ष रुपमा अवलोकन गर्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement