टेस्लाले चीनमा विद्युतीय गाडी बनाउने

चीन । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कारको उत्पादन गर्ने भएको छ। कम्पनीले कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ। यो कारखाना सांघाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो। टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो। चीनको कारखानामा टेस्लाले मोडेल तिन का सेडान कार उत्पादन गर्नेछ। प्रारम्भमा यहाँबाट सातामा तीन हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्क गत जनवरीमा चीनको भ्रमण गरेका थिए। चीनमा रहँदा उनले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनियाँ बैंकसँग पुँजीका लागि छलफल गरेका थिए। टेस्लाले चिनियाँ औद्योगिक तथा वाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र सांघाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख ऋण रकम प्राप्त गरेको छ।

टेस्लाको उक्त घोषणासँगै न्युयोर्क सेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ। चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो। वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ। तर, सन् २०१८ मा दुई दशमलव चार प्रतिशतले कार बिक्री घटेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ। गत वर्ष विद्युतीय सवारीसाधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ। चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणि स्थानमा छन्।