निगमका कर्मचारी युनियनहरुको निष्कर्ष– खरेल सर ! निगम सुधार्न सक्नुभएन, निकास दिनुस्

Advertisement

काठमाडौं । थपिएका नयाँ जहाजहरुको सही परिचालन गरी संस्थालाई नाफामा लैजानुपर्नेमा झन धरासायी बनाएको भन्दै नेपाल वायुसेवा निगमका युनियनहरु कार्यकारी अध्यक्ष मदन खरेलसँग रुष्ट भएका छन् ।

उनीहरुले निगम सुधार्न असफल भएको भन्दै निकास दिन खरेललाई दबाबसमेत दिएका छन् । कार्यकारी अध्यक्ष भएर आएको सात महिनासम्म वाइडबडी जहाज उडानका लागि नयाँ गन्तव्य खोज्न नसकेको, आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाजहरु सञ्चालन गर्न नसकेको, पूरानो बोइङ बिक्री गर्न आलटाल गरेको, निगमका न्यारोबडी सञ्चालनबाट आएको पैसा लगेर ऋणको किस्ता घटाउनुपर्नेमा चुप लागेको बसेको, निगमभित्र सञ्चालकदेखि कर्मचारीसम्म गुटबन्दी गर्दै हिंडेको, कर्मचारीलाई थाहै नदिई भित्रभित्रै निगम निजीकरण र कम्पनीकरण गर्न लागिपरेको जस्ता आरोप लगाउँदै युनियनहरुले खरेल जति धेरै निगममा बस्छन्, निगम उत्ति बढी धरासायी हुने बताउँछन् ।

आधिकारिक युनियनका एक पदाधिकारीले कर्पोरेट नेपालसँग भने– अहिले सबैभन्दा ठूलो समस्या विभागीय मन्त्री नभएर भएको हो । समस्या लिएर प्रधानमन्त्रीसम्म पुग्न त्यति सहज र उपयुक्त छैन, पर्यटन सचिवबाट निकास आउँदैन् । यता निगम धरासयी बनाइसके । हामी सबैभन्दा समस्यामा परेका छौं यतिखेर ।

वाइडबडी जहाजहरु, कोरिया, जापान र साउदी अरेबिया उँडाउन अघि बढेको प्रक्रिया अवरुद्ध गरेर निगमलाई ठूलो घात घरेको भन्दै उनले थपे– उहाँको कार्यशैली हेर्दा कहीं न कहीं निगमलाई थप जहाज किन्न नदिने र आर्थिकरुपमा धरासायी बनाउने गिरोहको योजनामा काम भइरहेको जस्तो लाग्छ । यस्ता कुराको प्रमाण हुँदैन् । कार्यशैलीबाट महशुस गर्ने कुरा हो । विरोध गरौं आफ्नै पार्टी सरकारमा छ । सरकारले नियुक्त गरेको मान्छेको विरोध कसरी गर्ने ? नगरौं, निगमको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको छ ।

काँग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष तारिणी कोइरालाले भने यस विषय प्रतिक्रिया दिन मानेनन् । सोही संगठनका महासचिव नेत्र राउतले निगमको बिग्रँदो वित्तीय अवस्थाभन्दा पनि विगत एक बर्षदेखि आफूहरुको बढुवा रोकिएको चिन्ता जनाए । सोही युनियनका अर्का सदस्यले भने व्यवस्थापनले कर्मचारीभित्र ‘फुटाउ र राज गर’को नीतिअनुसार गुटबन्दी सिर्जना गर्ने काम गरेको भन्दै त्यो समस्या आफ्नो संगठनमा पनि रहेको बताए । उनले निगम सञ्चालक समितिको अध्यक्ष पर्यटनसचिव हुने व्यवस्थालाई भत्काएर कार्यकारी अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय नै सुरुमा गलत भएको बताए ।

यसअघि नै यसअघि नै ‘टेण्ट’ भएर ‘फेरियर’ भएका खरेललाई फेरि निगममा भित्राउने सरकारको निर्णय नै गलत थियो भन्दै उनले भने– तै पनि यो पटक काम गरेर उहाँले देखाउनुहुन्छ कि भनेर सबै कर्मचारी साथीहरुले आशा लिएको हो । तर त्यो हुन् । सकेन् । अब इमिडियट्ली सरकारले अर्को स्टेप नलिने हो भने निगम निकै ठूलो आर्थिक संकटमा फँस्छ ।

युनियनहरुले निगमलाई निजीकरण गर्न खरेलले भित्रभित्रै कमिटि नै गठन गरेको र आफूहरुले थाहा पाएर विरोध गरेसँगै उक्त कमिटिका सदस्यहरुले राजीनामा दिएपछि कमिटि स्वतः निष्क्रिय भएको उदाहरण दिँदै तै पनि निगमलाई कम्पनीमा लैजान खरेलले लबिङ गर्न नछोडेको उनीहरुको आरोप छ ।

कर्मचारीहरुका अनुसार निजी लगानीकर्ताले नाफाका लागि लगानी गर्ने हो । निगममा लगानी गर्दा १० प्रतिशत पनि प्रतिफल आउँदैन् । रणनीतिक साझेदार वा जुनसुकै नाममा आउने निजी लगानीकर्ताले राम्रो प्रतिफल नहुँदा नहुँदै पनि किन लगानी गर्छ ? शंका गर्ने ठाउँ छ । अर्कोतर्फ राम्रो कम्पनी नआएर हिमालय एयरलाइन्स जस्ता टाट पल्टिएका कम्पनीहरुले निगममा लगानी गर्छु भनेर आउन सक्छन्, उसको उद्देश्य नाफा र निगमलाई सुधार्ने होइन्, अरु नै हुनेछ ।

Advertisement

Advertisement

Advertisement