सेयर निष्काशन गर्न जलविद्युत् कम्पनीले विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने

Advertisement

काठमाडौं । जलविद्युत कम्पनीले सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने भएको छ । जलविद्युत क्षेत्रको नियमन निकायको स्थापनासँगै उक्त आयोगले जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको आवश्यकता, संस्थागत सुशासन लगायतका विषयमा नियमन गर्न सहयोग पुग्ने भएकाले उक्त नियम कार्यान्वयनमा आएको हो ।

विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमतिप्राप्त कम्पनी वा संस्थाले सार्वजनिक रुपमा सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने भएको छ।

हालसम्म विद्युत क्षेत्रमा प्रत्यक्ष नियमन निकायको अभाव भइरहेको थियो । यद्यपि, हालै नेपाल सरकारले विद्युत नियमन आयोग ऐन, २०७४ र सोसम्बन्धी विद्युत नियमन आयोग नियमावली, २०७५ कार्यान्वयनमा ल्याइसकेको छ । नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयानुसार विद्युत नियमन आयोग गठन भई कार्य संचालन शुरु पनि गरिसकेको छ ।

विद्युत कम्पनीको सार्वजनिक निष्काशनका लागि बोर्डमा निवेदन पेश गर्दा तथा निवेदन दिई स्वीकृत हुन बाँकी रहेका कम्पनीको हकमा समेत उल्लेखित व्यवस्था बमोजिम विद्युत नियमन आयोगको पूर्व स्वीकृति पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विद्युत नियमन आयोग ऐन, २०७४ र विद्युत नियमन आयोग नियमावली, २०७५ बमोजिम गर्न गराउन उक्त आयोगले पत्र पठाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यसै सन्दर्भमा विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५को अनुसार जलविद्युत् कम्पनीले सेयर निष्काशनका लागि विद्युत नियमन आयोगको अनुमति लिनुपर्ने भएको छ ।

विद्युत नियमन आयोगको पूर्व स्वीकृतिले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणमा थप मद्दत पुगी धितोपत्र बजार थप प्रभावकारी तथा विश्वसनीय हुने बोर्डले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement