गाउँमा बस्ने घट्दै, शहरमा बस्ने बढ्दै

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा नगर क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या कूल जनसङ्ख्याको ५९ दशमलव नौ प्रतिशत पुगेको छ । संसद्मा सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार सरकारले पछिल्लो समय घोषणा गरेका २९३ नगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सो जनसङ्ख्या बसोबास गर्दै आएको छ ।

चालू आवमा आवाससम्बन्धी दुई कार्यविधि स्वीकृति भएर कार्यान्वयनको चरणमा छन् । ‘सुरक्षित नागरिक आवास कार्यविधि, २०७५’ र ‘जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५’ कार्यान्वयनमा आएको छ । सरकारले जनता आवास कार्यक्रम प्रदेशबाट कार्यान्वयन गर्ने गरेर हस्तान्तरण गरिसकेको सर्वेक्षणमा उल्लेख छ ।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न नदीमा सात किमी ढल बनेको छ । सर्वेक्षणअनुसार उपत्यकामा बागमती, विष्णुमती, रुद्रमती, इच्छुमती, मनोहरा, हनुमन्ते, मनोहरालगायत नदीमा ढल निर्माण भएको हो । पाँच दशमलव पाँच किलोमिटरमा नदी नियन्त्रणको काम सम्पन्न भएको छ । सुन्दरीजल क्षेत्रभन्दा पाँच किलोमिटरमाथि धाप ड्यामको निर्माण ४५ प्रतिशत र गोकर्णदेखि सिनामङ्गलसम्म ६७ प्रतिशत सौन्दर्य अभिवृद्धि गरिएको छ ।

नदी क्षेत्र सुन्दर बनाउन नदी किनारका दायाँबायाँ वृक्षारोपण, हरियाली उद्यान, खेलकूद मैदान र साइकल मार्ग निर्माण भइरहेको छ । चालू आवको फागुनसम्ममा ‘सघन शहरी विकास कार्यक्रम’अन्तर्गत तराईका २० नगरपालिकामा १२१ किलोमिटर सडक, २१६ किलोमिटर नाला र चार बसपार्कको निर्माण सम्पन्न भएको छ । देशका विभिन्न प्रदेशहरूमा ढलसँगै सडक निर्माण र सुधार, सडक ड्रेनको निर्माण भएको छ । विभिन्न स्थानमा खानेपानी पुनःस्थापनाको काम भएको बताइएको छ । गत फागुन मसान्तसम्ममा नै नौ सरकारी कार्यालय र दुई सभागृह बनेको सर्वेक्षणमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement