प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– मोदीको शपथग्रहणमा गएर उहाँ भोलिपल्टै फर्किहाल्नुहुन्छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा प्रधानमन्त्री ओली बुधबार भारत जाने बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले ओली शपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे पनि छलफल हुने बताए । भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ । विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ । त्यसबाहेक किजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्री पनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ ।’

बिहीबार साँझ हुने शपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले बताए । उनले त्यही बिचमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने पनि स्पष्ट पारे । भट्टराईले भने, ‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो । नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ ।’

नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले भन्दै भट्टराईले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने बताए । उनले नेपाल र भारतबीच अरुको भन्दा बढि नै चासो रहेको पनि सुनाए । भट्टराईले भने, ‘हामीबीच बहुआयामिक सम्बन्ध छ । धेरै विषय भएकोले समस्या पनि छन् । पछिल्लो समय समस्याहरु पनि समाधानतर्फ उन्मुख छन् ।’

सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उनको दाबी छ । भट्टराईले थपे, ‘बाँकी विषयहरु पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामीहरु अघि बढिरहेका छौं ।’

उनले नेपाल र भारतबीच अब २१ औं शताब्दीअनुसार युग सुहाउँदो सम्बन्ध कायम गर्नुपर्ने पनि जनाए । उनले भने,‘नेपाल र भारतबीच अब उदाहरणीय सम्बन्ध राख्नुपर्छ ।’

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्ने पनि उनले विश्वास दिलाए । भट्टराईले भने, ‘हामी दुवै पक्षका सदस्यहरुले सर्वसम्मतिले प्रतिवेदन तयार पारेका हौं । भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो । अब छिट्टै बुझ्नुहुन्छ ।’

Advertisement

Advertisement

Advertisement