विद्युत प्राधिकरणको कालोसूचिमा परेको जनमैत्री हस्पिटलबाट आधा विद्युत् बक्यौता असुली

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बालाजुको जनमैत्री हस्पिटलको विद्युत् वक्यौता असुल गरेको छ । प्राधिकरणको वालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपियाँ वक्यौता असुल गरेको हो ।

महसुल नतिरेपछि प्राधिकरणले हस्पिटलको विद्युत लाइन २०७३को वैशाखमा काटेको थियो । प्राधिकरणले २०७३को माघ ३० गतेदेखि हस्पिटललाई कालोसूचीमा राखेको थियो । त्यतिवेला हस्पिटलको विद्युत महसुल वक्यौता ८३ लाख ७८ हजार रुपियाँ थियो । २५ प्रतिशत जरिवानासहित वक्यौता एक करोड ५ लाख रुपियाँ पुगेको थियो ।

बालाजु वितरण केन्द्र प्रमुख सुरज रेग्मीका अनुसार, हस्पिटलले अहिले वक्यौता आधा तिरेको छ भने बाँकी रकम पाँच महिनाभित्रमा पाँच किस्तामा तिर्ने व्यवस्था मिलाइएको छ । आधा वक्यौता तिरेको र बाँकी पनि तिर्न हस्पिटल तयार भएपछि विद्युत् लाइन छिट्टै जोडिने रेग्मीले जानकारी दिए ।

बालाजु वितरण केन्द्रले चालु आर्थिक वर्षको वैशाखसम्ममा कालोसूचीमा रहेका ७६ ग्राहकबाट ६५ लाख ५४ हजार रुपियाँ असुल गरेको छ । महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटी एक करोड ६ लाख २५ हजार रुपैयाँ असुल गरिएको प्रमुख रेग्मीले बताए । उनले बिजुली जोरी गर्ने एक सय पाँच जनालाई कारबाही गरी १२ लाख ९६ हजार असुल गरिएको जानकारी दिए । केन्द्रका २६ हजार ग्राहकमध्ये करिब २९ प्रतिशतले अनलाइनमार्फत विद्युत महसुल तिर्ने गरेका छन् ।

केन्द्रले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, तारकेश्वर तथा नागार्जुन नगरपालिका र धादिङको धुनीबेसी नगरपालिको छत्रेदेउराली सम्म सेवा दिंदै आएको छ । केन्द्रले अस्तव्यस्त अवस्थामा रहेका विद्युतका तार पोलहरु सुधार गर्ने, आवश्यक स्थानमा फेर्ने, ट्रान्सर्फमरहरु थप गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ । प्राधिकरणले २०७४को साउनबाट केन्द्र संचालनमा ल्याएको हो ।

Advertisement

Advertisement

Advertisement