राष्ट्रिय औद्योगिक प्रदर्शनी भृकुटीमण्डपमा सुरु, उद्घाटन गर्न आउछु भनेर ओली आएनन्

Advertisement

काठमाडौं । घरेलु तथा साना उद्योगहरुको विकास गर्ने उद्देश्यले हरेक बर्ष आयोजना हुँदै आएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार’ यस बर्ष बुधबारबाट सुरु भएको छ । आजको कार्यक्रममा प्रधानमन्त्री आउने भनिए पनि नआएपछि उद्योगमन्त्रीले प्रदर्शनीको उदघाटन गरेका थिए । प्रधानमन्त्री केपी ओली आउने भन्दै आयोजकले प्रचारप्रसार र निम्तो बाँडेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्धिको मुख्य आधार भएको भन्दै यस्ता उद्योगहरुलाई ब्राण्डिङमा जान सुझाव दिएका छन् ।

राजधानीमा बुधबारदेखि शुरु भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को उद्घाटन गर्दै उनले भने– ‘नेपालीको क्रयशक्ति बढेको छ, हामी ब्राण्ड खोज्छौं, तर विना ब्राण्डका नेपाली उत्पादन हेर्ने बित्तिकै मनपर्छ । त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्राण्ड बनाऔं ।’

उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको उक्त प्रदर्शनीमा यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए । उनले स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए ।

उनले मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएकोले अबको आन्दोलन भनेको आर्थिक समृद्धिका लागि हो भन्दै प्रदर्शनीले साना उद्योगहरुको विकासमा सहयोग पुग्ने बताए ।

अर्थमन्त्री युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रोत्साहन गर्ने हिसाबको बजेट विनियोजन भएको बताए ।

उद्योगको क्षेत्रमा लगानी गर्नको लागि केही पछाडी परेको स्वीकार गर्दै उनले अब यस्तो समस्या नदोहोरिने जिकिर गरे । आगामी वर्षको बजेटले उद्योगलाई उचित प्राथमिकता दिएको उनले बताए ।

खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताए । उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उनले सरकारले स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कुटनीतिक पहल गर्नका लागि अन्तर्राष्ट्रिय« नियोगसँग सहकार्य गर्ने समेत बताए ।

महासंघका अध्यक्ष श्याम गिरीले स्वदेशमा उत्पादित वस्तुहरुलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको बताए ।

घरेलु विभागका महानिर्देशक विनोदप्रकाश सिंहले औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं बिक्रीमा रहेको जानकारी दिए । मुलुकभर उत्पादन भएका स्वदेशी वस्तुहरुको प्रयोगलाई प्रवर्धन गर्न आम नागरिकमा प्रचार प्रसार गर्ने, यस्ता वस्तुको उत्पादकत्व अभिबृद्धिका लागी प्रतिष्पर्धी सम्भावनाको खोजिगर्ने, गुणस्तर, प्याकेजिङ, ब्राण्डीङ तथा समग्री बजार रणनीतिबारे सहभागि एक अर्का उद्यमीबाट अनुभव साटासाट गरी प्रतिष्पर्धी हुन अभिप्रेरित गर्र्ने, क्रेता विक्रेता बिच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने प्रदर्शनीको उद्देश्य रहेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement