नेपालको आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

Advertisement

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो ।

नेपालको अर्थतन्त्र द्रुत गतिमा अघि बढिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी देश भारत र चीनबाट फाइदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको पनि बैंकका दक्षिण एसियाका वरिष्ठ अर्थशास्त्री हान्स टिम्मेरले जानकारी दिए ।

बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको पनि स्पष्ट पारेको छ । सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ । प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गए पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए। उनले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्न लागि परे पनि वित्तीय अनुशासनलाई पूर्ण पालना गरेको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्षभित्र व्यापार घाटा अन्त्य गर्ने दाबी पनि गरे । निरन्तर रुपमा भैरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement