म्यानपावर व्यवसायीको एक हप्ते आन्दोलन सकियो

Advertisement

काठमाडौं । मेनपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारको हवाइ टिकट काट्न सुरु गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न पाँचबुँदे माग राख्दै अघिल्लो शुक्रबारदेखि हिजो बिहीबारसम्म कामदारको टिकट रोक्ने भन्दै आन्दोलन गरेका थिए ।

आफ्नो माग सरकारले छिटो पूरा नगरेमा फेरि आन्दोलन गर्ने वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

व्यवसायीले कामदार पठाउन रोकेको दावी गरे पनि उनीहरुको आन्दोलनकै समयमा पनि दैनिक ११ सय युवा वैदेशिक रोजगारीमा गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कक्षका प्रमुख बाबुराम घिमिरेले जानकारी दिए।

इदको समयमा पारेर व्यवसायीले गरेको एक हप्ते आन्दोलकै समयमा वैदेशिक रोजगारीमा जाने युवामध्ये ५० प्रतिशत संस्थागत रुपमै गएको पनि उनले जानकारी दिए ।

व्यवसायी संघमा आबद्ध व्यवसायीले गएको जेठ ३ गते वृहत भेलामार्फत निर्णय नै गरेर ६ बुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारको उडान बन्द गर्ने निर्णय गरेका थिए ।

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।

यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन, व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली देशअनुसार हुनुपर्ने माग पनि संघले गरेको छ ।

Advertisement

Advertisement

Advertisement