जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनसम्म बन्द हुने

Advertisement

काठमाडौं । मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनसम्म बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उड्डयन कार्यालयको भनाइ छ । विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो ।

२० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो । विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा रु नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । असारभित्र सबै काम सकिने निर्माण कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement