नेपाल वायुसेवाको वाइडबडी जहाज टोकियो जान नदिई ओशाका लैजान खोज्ने हिराचन चिन्तामा

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष एवं नेपाल वायुसेवा निगमका जापानका प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा आपत्ति जनाएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनीय भएको तर्क गरे ।

हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाईमा कुनै सत्यता नै नभएको जिकिर गरे । उनैसँगको भित्री साँठगाँठमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले टोकियो उडानको तयारी स्थगित गरी नेपाल वायुसेवाको जहाज ओशाका उडाउन खाजेको भन्दै निगमका कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए ।

बहुसंख्यक नेपालीहरु टोकियोमा नै बसोबास गर्ने भएकाले त्यहाँको उडानको लागि यसअघि तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारले अघि बढाएको प्रक्रिया खरेलले एकाएक रद्द गरी ओशाका उडानका लागि शेरचनसँग हात मिलाएका थिए । टोकियोबाट आशाका पुग्न रेलमा नै झण्डै एक घण्टा लाग्ने भएकाले निगमले रित्तो जहाज उडाउनुपर्ने र ठूलो आर्थिक नोक्सानी पुग्ने भन्दै विरोध हुँदै आएको थियो । उक्त निर्णयपछि निगमकै उच्च अधिकारीहरुले सहयोग गर्ने स्थिति आएपछि खरेलले ओशाका उडानको तयारी स्थगित गर्न बाध्य भएका हुन् ।

पत्रकार सम्मेलनमा शेरचनले भने जापानी टिकट बुकिङ प्रणालीको तयारी नै निगमले नगरेको जिकिर गरे । उनी भन्छन्, ‘बुकिङ नै नखुलाई एक्कासी टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित् गर्नु रहस्यमय छ । यसमा नेपाल सरकार खासगरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष ध्यान पुर्याउनुपर्छ ।’

उनले दिर्घकालिन महत्व बोकेको नेपाल–जापान सिधा हवाई उडान सम्झौतालाई नेपाल वायुसेवा निगमले गरेको खेलबाडका कारण नेपाल–जापान द्धिपक्षीय सम्बन्धमा पनि आगामी दिनमा असर पुग्ने दावी गर्दै भने, ‘यस्तै रवैया रहिरहे नेपाल वायुसेवा निगमलाई भविष्यमा जापान यात्रा तय गर्न निकै गाह्रो हुने मैले देखेको छु ।’

Advertisement

Advertisement

Advertisement