‘चाइनिज कम्पनी गेजुवा आयोजना बनाउने खालको होइन, बुढीगण्डकी हामी आफै बनाउनुपर्छ’

Advertisement

गोरखा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्ने बताएका छन् । काङ्ग्रेस गोरखाको दोस्रो नगरसभामा बोल्दै देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने बताए ।

देउवाले भने, “नेपालीसँग पैसा छ, नेपाली जनतालाई नै लगानीको अवसर दिनुपर्छ ।” उनले चिनियाँ गोजुवा कम्पनी समयमा आयोजना निर्माण गर्ने खालको कम्पनी नभएको भन्दै गोजुवालाई आयोजना निर्माणको ठेक्का दिन नहुने तर्क गरे । देउवाले विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिनु शङ्कास्पद रहेको दाबीसमेत गरे ।

उनले भने, “गोजुवाले तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजना जिम्मा लिएर १८ वर्ष लगाएको उदाहरण छ ।”

त्यस्तै, गोरखाको अर्को कार्यक्रममा देउवाले गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति चिन्ता जनाए । आइतबार बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा उनले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँको पर्यटन विकासमा बाधा पुग्ने बताए ।

देउवाले भने, “दरबार पुनःनिर्माण छिटो हुनुपर्छ, सरकारले पुरातात्विक महत्व बोकेका एतिहासिक क्षेत्रको विकासलाई प्राथामिकतामा राख्नु आवश्यक छ ।” दरबार पुनःनिर्माणको अवस्था हेर्दा अत्यन्तै सुस्त गतिमा काम भएको पाइएको भन्दै उनले पुनःनिर्माणलाई तीव्रता दिन पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने बताए ।

Advertisement

Advertisement

Advertisement