स्थानीय तहले बजेट लगे तर बिरुवा हुर्काएनन्

Advertisement

काठमाडौं । डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा हुर्काएको छ । पौडेलले गत वर्ष राष्ट्रपति चुरे कार्यक्रमसहित गरेर वन कार्यालयले तीन लाख ५० हजार बिरुवा हुर्काएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति चुरे कार्यक्रमको बजेट स्थानीय तहमा गएको छ । एउटा बिरुवा हुर्काउन रु नौ खर्च हुने गर्दछ । त्यही बिरुवा किन्नु पर्दा ३० हाराहारी खर्च हुने पौडेलले बताए ।

वन कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार बिरुवा हुर्काउने बजेट स्थानीय तहमा गए पनि बिरुवा भने हुर्काइएको छैन । ती तहहरुबाट बिरुवा हुर्काइएको विवरण प्राप्त नभएको उनले बताए । उनले भने, “बजेट स्थानीय तहमा गयो । बजेटको अभावमा हामीले बिरुवा कम मात्र हुर्कायौँ ।” स्थानीय तहले पनि नहुर्काएपछि बिरुवाको अभाव हुने पौडेलको भनाइ थियो । स्थानीय तह भने बिरुवा खरीद गरेर वृक्षरोपणको तयारीमा रहेका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले यस वर्ष बिरुवा हुर्काउन नसकिएको बताए । वडा नं ८ मा स्थान तय गरेको भए पनि यस वर्ष भने बिरुवा किन्ने तयारी गरेको उनको भनाइ थियो । जिल्लामा हर्रो, बर्रो, अमला, कपूर, म्याङ्गो स्टिक, टाँकी, वडहर, रिठ्ठो, जामुन जस्ता बिरुवा हुर्काउने गरिन्छ । सामुदायिक वन क्षेत्रमा हरेक वर्ष वृक्षरोपण गर्नुपर्ने हुन्छ । पौडेलले बिरुवाको अभावमा आवश्यक सङ्ख्यामा वृक्षरोपण हुन नसक्ने देखिएको बताए । सर्वसाधारण र कृषक यसबाट बढी प्रभावित हुने पौडेलको भनाइ छ । हरेक बर्सातको समयमा विभिन्न ठाउँमा वृक्षरोपण गर्ने गरिन्छ ।

जिल्लाको कुल क्षेत्रफलमध्ये एक लाख ४७ हजार चार सय ९० हेक्टर वन क्षेत्र रहेको छ । जसमा निकुञ्ज, राष्ट्रिय वन, सामुदायिक वन र मध्यवर्ती क्षेत्र पर्दछन् ।

Advertisement

Advertisement

Advertisement