पाकिस्तान टाट पल्टिने अवस्थामा पुगेपछि इमरानले देशवासीलाई भने–सम्पत्तिको स्वघोषणा गर्नुस्

Advertisement

इश्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै देशलाई गरिबीबाट मुक्त गर्नका लागि सबै पाकिस्तानी नागरिकलाई पहल गर्न आग्रह गरेका छन् । उनले ३० जुनसम्ममा आफ्नो सम्पत्तिको घोषणा गर्न जनतालाई आग्रह गरेका छन् । त्यसरी घोषणा गरेपछि कुन वैध र कुन अवैध सम्पति हो भन्ने छुट्टिने समेत उनले जनाएका छन् ।

उनले ३० जुन सम्ममा आफ्नो बेनामी सम्पत्ति, बेनामी बैंक अकाउन्ट तथा विदेशमा रहेको सम्पत्ति घोषणा गर्न आग्रह गरेका छन् । उनले सो समयपछि यो मौका नमिल्ने समेत जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन्, “गएका १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्ब रुपैयाँसम्म पुगेको हो । जसको हामीले हरेक वर्ष ४ हजार अर्ब कर तिर्ने गरेका छौं । त्यसको आधा रकम ऋणको किस्ता तिर्नको लागि खर्च भइरहेको छ । बाँकी जति पैसा बच्छ त्यसबाट मुलुकको खर्च चल्न सक्दैन ।”

उनको भनाइ थियो,“म यहाँहरु सबैलाई अपिल गर्दछु –सम्पति घोषणा गर्ने जुन योजना लिएर आएको छु त्यसमा यहाँहरु सबै सामेल हुनुहोला । हामी आफैँले पहल गर्नुपर्छ । कुरानमा कुनै पनि हालत बदल्न हामीले आफ्नै हालत बदल्नुपर्ने भनिएको छ । तपाईँहरुलाई ३० जुनसम्म आफ्नो बेनामी सम्पत्ति सार्वजनिक गर्ने मौका छ । हाम्रो सरकारसँग त्यस्तो सूचना पनि छ जुन पहिलाका सरकारहरुसँग थिएन । विदेशमा पाकिस्तानीहरुको सम्पत्ति र बैंक अकाउन्टको सूचना मसँग छ ।”

प्रधानमन्त्री इमरानको भनाई थियो,“हाम्रा एजेन्सीहरुले लगातार यो विषयमा काम गरिरहेका छन् । उनीहरुसँग सबै सूचना छ । कसको साथमा कति बेनामी सम्पत्ति छ भन्ने कुराको सबै जानकारी मलाई छ । यहाँहरुको साथमा ३० जुनसम्मको समय छ यसबाट फाइदा उठाउन सक्नुहुनेछ ।”

पाकिस्तानमा इमरान खानको सरकार भयानक आर्थिक संकटसँग जुधिरहेको छ । अनुमान गरिएअनुसार पाकिस्तानले आज मंगलबार तीन ट्रिलियन रुपियाँ घाटा रहेको बजेट पेश गर्दैछ । जबकी पहिलाको बजेट एक दशमलब आठ ट्रिलियन रुपैयाँ मात्रै घाटामा आउँथ्यो ।

विशेषज्ञहरुका अनुसार इमरान खानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को दबाब छ । पाकिस्तानले आईएमएफसँग छ अर्ब डलरको ऋण लिन गइरहेको छ । यो लिनका लागि इमरान खानको सरकारले देशको आर्थिक नीति आईएमएफको शर्तअनुसार अघि बढाउने बाचा गरेका छन् । पाकिस्तानलाई आगामी १२ महिनामा सात सय अर्ब रुपियाँको फन्ड जम्मा गर्न दबाब छ । आईएमएफले पाकिस्तानमा खर्चको कटौति तथा करमा बढोत्तरी गर्न आग्रह गरेको छ । त्यसैले पाकिस्तानको यसपालिको बजेट ऐतिहासिक हुने अनुमान छ ।

त्यो बजेटले पाकिस्तानको भावि कार्यदिशा निर्देश गर्नेछ । पाकिस्तानमा धनी र गरिबबीचको खाडल गहिरिँदै गइरहेको छ । पाकिस्तानको व्यापक विषमता कराँची, लाहोर र इश्लामावादको बजारमा हेर्दा पनि थाहा हुन्छ । हालैका वर्षमा यी शहरमा अटोमोबाइलका राम्रा ब्राण्डहरु सबैजसो स्टोरमा रहेका छन् । तर, त्यहाँबाट बाहिरिनासाथ मानिसहरु रोटीकोलागि संघर्ष गरिरहेका छन् । पाकिस्तानको यसअघिको मुश्लिम लिगको सरकारले आफ्नो आर्थिक सर्भेमा आयात र निर्यातमा कसरी अन्तर भइरहेको छ भन्ने जनाएको थियो । इमरानले आफ्नो चुनावी अभियानमा भनेका थिए,“ऋण लिनुभन्दा बरु आत्महत्या गर्छु ।”तर अहिले उनै इमरानलाई ऋण बाहेकको अर्को विकल्प देखिएको छैन ।

घट्दो विदेशी मुद्रा
पाकिस्तानमा विदेशी मुद्रा भण्डार लगातार कम हुँदै गइरहेको छ । हालै भारतमा सम्पन्न आम चुनावमा करिब ७ अर्ब डलर खर्च भएको थियो । पाकिस्तानसँग यति विदेशी मुद्रा बचत रहेको छ । निर्यात लगभग शून्यमा झरेको छ । अनि महंगी व्यापक रुपमा बढ्दै गइरहेको छ । राजस्वको घाटा आकाश छुने अवस्थामा छ । भुक्तान सन्तुलन पनि बिग्रेको छ ।

पहिला ऋण लिनुपरेमा आत्महत्या गर्छु भन्ने इमरानलाई अहिले आईएमएफको शरणमा जानु परिरहेको छ । आइएमएफबाट पाकिस्तानलाई दिन लागिएको यो २२ औं ऋण हो । पाकिस्तानको कूल बजेटको ३० दशमदब सात प्रतिशत बजेट ऋलाई चुक्ता गर्नमै खर्च भइरहेको छ । पाकिस्तानमा आयातका लागि बढी खर्च भइरहेको छ ।निर्यातबाट केही पनि पाइरहेको अवस्था छैन ।

आफ्नो आर्थिक अवस्था नसुधारे पाकिस्तान डिफल्टरमा परिणत हुने अवस्था आउन सक्छ । २०१५ मा पाकिस्तानको चालु घाटा २ दशमलब सात अर्ब डलर थियो भने २०१८ मा बढेर १८ दशमलब दुई अर्ब डलर भएको छ । करेन्ट अकाउन्ट डेफिसिटका कारण पाकिस्तानको व्यापार घाटा बढ्दै गइरहेको छ । चीन–पाकिस्तान इकोनोमिक कोरिडरका कारण पाकिस्तानमा आयात लगातार बढीरहेको हुन्छ ।

कोरिडोर चीनको महात्वाकांक्षी परियोजना बेल्ट एण्ड रोडको हिस्सा हो त्यसको लागि चीनले ६० अर्ब डलरको लगानी छुट्याएको छ । २०१८को जुन महिनाको अन्त्य सम्म पाकिस्तानको कूल सरकारी ऋण १७९ दशमलब आठ अर्ब भएको थियो । २५ अर्ब डलर त एक वर्षमा नै बढेको छ । पाकिस्तानी रुपैयाँ पनि डलरको तुलनामा लगातार गिर्दै गइरहेको छ । यही कारणले गर्दा पाकिस्तानको सरकारी कर बढ्दै गइरहेको छ । पाकिस्तानमा अहिले विदेशी लगानी पनि शून्यकै अवस्थामा छ । विश्व बैंकले कुशासनका कारण पाकिस्तानमा अहिलेको अवस्था आएको बताएको छ । (बीबीसीबाट)

Advertisement

Advertisement

Advertisement