मिडिया विधेयक परिमार्जन हुन्छः प्रचण्ड

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए ।

दाहालले भने, “मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।” सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले थपे, “जति गृहकार्य भएर विधेयक आउनु पर्थ्यो, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने दाहालले बताएका छन् ।

सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया दिदैं दाहालले भने, “मिडियामा बढ्ने नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौँ ।”

अर्को एक प्रसङ्गमा अध्यक्ष दाहालले यहाँ बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने बताए । आफैंले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिएका छन् । उनले भने, “मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसाय चाँहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।” रङ्गशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको भन्दै उनले प्रष्ट पारेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ ।

अन्त्यमा, अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताउनुका साथै अर्को एक प्रश्नमा उनले प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि त्यहीँ राख्नेकी भन्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement