बचत तथा ऋण सहकारीको अब मर्जर अभियान सुरु गर्छुः अर्याल

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमार्फत अब ठूला उद्योगहरुमा पनि लगानी हुनुपर्ने भन्दै त्यसका लागि कानुन बाधक भए संशोधन गर्न सरकार तयार रहेको बताएकी छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको कार्यक्रममा उनले सहकारीमार्फत साना ठूला दुवै उद्योगमा लगानी बढाउनुपर्ने र विशेषगरी कृषिमा आत्मनिर्भर हुनुपर्ने बताइन् । सहकारीले उत्पादन बढाएर कृषिको व्यापार घाटा कम गर्नुपर्ने अर्यालको तर्क छ ।

गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने भन्दै अर्यालले सहकारीमार्फत नै गरिवी निवारण सम्भव भएको दावी गरिन् । बचत तथा ऋण सहकारीको संख्या धेरै भएको मर्जर अभियान चलाउने उनको भनाई छ । मन्त्री अर्यालले जीवन बदल्ने माध्यम सहकारी नै भएकाले नियमनमार्फत सहकारीलाई सदस्यमैत्री बनाउन दवाव सिर्जना गरिने बताइन् ।

उनले भूमिको अधिकतम उपयोगबाट नै उत्पादन बढाउन सकिने बताइन् । अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा सरकार रहेको भन्दै भूमिको उत्पादकत्व बृद्धि, उन्नत र आधुनिक कृषि उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिवीको जीवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको उनको भनाइ छ ।

अर्यालले भनिन्, ’भूमि सुधार भनेको गरिवलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषि उत्पादनमा लगाई अधिकतम लाभ लिने हो ।’

Advertisement

Advertisement

Advertisement