आन्तरिक उडानका नौमध्ये दुई जहाज मात्रै सञ्चालन, व्यवस्थापन नियोजितरुपमा निगम डुबाउँदै

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चित गरी नियतवश उडानका लागि अयोग्य बनाइएको देखिन्छ ।

जहाज उडाउन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी व्यवस्थापनले गरेको छ । तर, यिनै जहाज उडाउने जिम्मेवारी दिइएका पाइलटलाई भने आवश्यक तालिम र प्राविधिक परीक्षणबाट वञ्चित गरिएकाले अधिकांश पाइलट उडानका लागि अयोग्य छन् । आन्तरिक उडान प्रभावित हुने गरी केही पाइलटलाई अन्तर्राष्ट्रिय उडानतर्फ पठाइएको छ । त्यसले अन्तर्राष्ट्रियतर्फ ‘ओभर स्टाफिङ’ भएको छ ।

मासिक ६ करोड ३० लाख घाटा
आन्तरिक उडानका सातवटा जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा भइरहेको छ । एउटा जहाजबाट दैनिक औसत तीन लाख घाटा हुने गरेको निगमले जनाएको छ । जहाज सञ्चालन हुँदा यात्रु बोकेबापत प्राप्त हुने रकमलाई नोक्सानीमा राखिन्छ । त्यस्तै, जहाज ग्राउन्डेड भए पनि बिमा, ग्राउन्ड पार्किङ शुल्क, क्रु मेम्बरलाई दिने तलबभत्तालगायत खर्च नियमित भइरहन्छ । यो रकम पनि निगमको घाटामै जोडिन्छ ।

जहाज ग्राउन्डेड हुँदा आव ०७४।७५ मा मात्रै निगमलाई एक अर्ब २१ करोड घाटा भएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जहाज नउडेपछि चिनियाँ जहाजले निगमलाई ६० करोड ६१ लाख रुपैयाँ घाटा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै दुईवटा ‘एमए सिस्क्टी’ जहाजले एक वर्षमा ३१ करोड ६४ लाख र चारवटा ‘वाई–१२’ जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍याएकोे छ । निगमसँग रहेका दुईवटा ट्विनअटर जहाजमध्ये एउटा मात्र सञ्चालनमा छ भने अर्को मर्मतमा छ ।

पाइलट व्यवस्थापनमा गडबडी
चीनबाट ल्याएको वाई–१२ जहाज उडानका लागि एकजना इन्स्ट्रक्टर पाइलट आङनुरी शेर्पाले एक महिनाअघि राजीनामा दिएर अमेरिका गएका थिए । तर, फेरि एक हप्ताअघि उनलाई नयाँ प्रक्रियाबाट इन्स्ट्रक्टर पाइलटकै रूपमा निगममा भित्र्याइएको छ । उनलाई प्रतिमहिना ६ लाख पारिश्रमिक दिइएको निगमले जनाएको छ । अहिले उनको उडान लाइसेन्सको मिति सकिएकाले नवीकरणका लागि नागरिक उड्डयन प्राधिकरणमा पठाएको निगमका प्रवक्ता नवराज कोइरालाले बताए । इन्स्ट्रक्टर पाइलटले परीक्षण नगरी अन्य तोकिएका क्याप्टेनले उडान गर्न पाउँदैनन्, अर्थात् पाइलट प्रोफिसेन्सी चेक (पिपिसी) हुन सकेको छैन । पिपिसी चेक हुन नसक्दा क्याप्टेन सञ्जय वादे श्रेष्ठ र नीपेन्द्र भट्टराईले वाई–१२ जहाज ६ महिनादेखि उडाउन पाएका छैनन् । निगमका स्थायी पाइलट उनीहरू अहिले तलब–भत्ता मात्रै नियमित बुझिरहेका छन् । जहाज उडाउन तयार भए पनि षड्यन्त्र गरेर ती पाइलटको पिपिसी चेक हुन नदिएको निगम स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘जहाज ग्राउन्डेड गरेर निगमलाई टाट पल्टाउन ठूलो गिरोह सक्रिय भएको भान हुन्छ, नभए पाइलट हुँदाहुँदै जहाज ग्राउन्डेड हुने वातावरण किन सिर्जना हुन्थ्यो ?’

आन्तरिक डुबाउने नियत
चारवटा ठूला एयरबस र नौवटा आन्तरिक उडानको जहाज भएको निगमले चिनियाँ चार जहाजका लागि पाइलटको व्यवस्थापन गर्न नसक्नु लाजमर्दो भएको निगमका एक कर्मचारीले बताए । उनले भने, ‘निगम व्यवस्थापन नै कतै निगमलाई भद्रगोल बनाउन त लागेको छैन भन्ने शंका छ । किनकि, अर्बौँ ऋणमा ल्याएको जहाज पाइलट हुँदाहुँदै थन्किएको छ ।’ विभिन्न बहानामा वाई–१२ का पाइलटलाई निरीक्षण तालिम दिन नमान्ने आङनुरी शेर्पामाथि कडा निर्देशन हुनुको सट्टा राजीनामा स्वीकृति गर्ने र फेरि नयाँ प्रक्रियाबाट उनैलाई ल्याउनु निगम व्यवस्थापनको कमजोरी मात्र नभई मिलिभगतजस्तो देखिएको निगमका अर्का कर्मचारी बताउँछन् ।

डोमेस्टिकमा पाइलट अभाव, न्यारोबडीमा फालाफाल
डोमेस्टिकमा जानाजान पाइलट अभाव गराएर निगम नेतृत्वले एयरबस ३२० मा भने ओभर स्टाफिङ गराएको छ । एयरबस ३२० लाई पूर्ण क्षमतामा उडाउन १६ जना क्याप्टेन आवश्यक पर्नेमा २३ क्याप्टेन लगेर थुपारिएको छ । यता १६ कोपाइलट चाहिनेमा १० कोपाइलट छन् । न्यारोबडीमा क्याप्टेनको संख्या बढी, तर कोपाइलट कम भएपछि कोपाइलटको सिटमा समेत क्याप्टेन नै उड्ने गरेका छन् । यसरी डोमेस्टिक उडानमा योग्य पाइलटलाई अन्तर्राष्ट्रिय उडानमा दुरुपयोग गरी आन्तरिक उडानलाई ग्राउन्डेड गराइएको निगम स्रोतले जानकारी दिएको छ ।

दुई क्याप्टेन बेरोजगार हुँदाहुँदै अन्य दुई थपिए
चिनियाँ वाई–१२ जहाज उडानको जिम्मेवारी पाएका दुई पाइलट बेरोजगार भइरहँदा यही जहाज उडाउन भन्दै दुई पाइलट थपिएका छन् । क्याप्टेन फिजोनाथ नेपाली र केबी लिम्बूलाई ‘वाई–१२’ जहाज उडाउन नियुक्त गरिएको छ । फिजोनाथ नेपालीलाई सात लाख र केबी लिम्बुलाई नौ लाख ७६ लाख रुपैयाँ प्रतिमहिना तलब दिइएको छ । उनीहरू वाई–१२ जहाज उडानका लागि ग्राउन्डमा लिइने परीक्षण लिइसकेका छन् । तर, उनीहरूको उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएपछि निगमकै इन्स्ट्रक्टर पाइलट आङनुरी शेर्पाको निगरानीमा परीक्षण उडान सकेपछि मात्र स्वतन्त्र रूपमा उडान भर्न सक्छन् । तर, आङनुरी नै उडानयोग्य नभएकाले यी दुई पाइलटले उडान तत्काल अनुमति पाउने सम्भावना कम छ ।

चिनियाँ जहाजको कहानी
सन् २०१४ मा चीनबाट ल्याइएका ६ मध्ये दुईवटा जहाज अनुदानका रूपमा नेपाल ल्याइएको हो । सो समयमा विवादबीच पनि अनुदानमा चिनियाँ सरकारले दिने भन्दै दुईवटा जहाज हतारोमा ल्याइएको थियो । त्यसको एक वर्षपछि अर्थात् सन् २०१५ मा अरू थप चारवटा जहाज ६ अर्ब रुपैयाँमा खरिद गरी ल्याइएको हो । जहाजको मर्मतका लागि पार्टपुर्जाको उपलब्धतादेखि क्याप्टेन तयार गर्न लामो समय लाग्ने भन्दै चिनियाँ जहाज ल्याउन नहुने बहस त्यसवेला चलेको थियो । १९ सिटे क्षमताका वाई १२ जहाज दुर्गम भेगमा उडान भर्न र ५८ सिटका एमए सिस्क्टी जहाज अलि सहज मानिने विमानस्थल भएका ट्रंक रुटमा उडान भर्ने गरी ल्याइएका थिए । तर, जहाज ल्याएदेखि नै यी जहाज विभिन्न समस्यामा पर्दै आएका छन् ।

यसरी ग्राउन्डेड गराइयो जहाज
आन्तरिक उडानमा प्रयोग गर्न भनी पाँच वर्षअघि चीनबाट ल्याइएका ६ मध्ये पाँचवटा जहाज ६ महिनादेखि थन्किएका छन् । १९ सिटे चारवटा वाई–१२ जहाज पाइलट अभावमा रोकिएको व्यवस्थापनको दाबी छ । तर, निगमको कार्यकारी अध्यक्ष भएर मदन खरेल आएपछि ती जहाजलाई जानाजान पाइलटविहीन बनाइएको स्रोत बताउँछ ।

चारवटा वाई–१२ जहाज उडाउन आठ क्याप्टेन र आठ कोपाइलट चाहिन्छ । १० जनवरी २०१९ सम्म चार क्याप्टेन र सात कोपाइलट कार्यरत थिए, उनीहरूले दुईवटा जहाज उडाउन सक्थे । तर, निगमले उनीहरूमध्ये दुई क्याप्टेन र दुई कोपाइलटलाई एयरबसको न्यारोबडी जहाजमा लग्यो । अब वाई–१२ जहाजका लागि दुई क्याप्टेन र पाँच कोपाइलट बाँकी छन् । तर, इन्स्ट्रक्टर पाइलटले उडानको नियमित प्राविधिक मूल्यांकन नगर्दा उनीहरू कोही पनि उडानका लागि योग्य छैनन् । त्यसैले चारवटै वाई–१२ जहाज ग्राउन्डेड छन् ।

त्यस्तै, निगमसँग भएका तीन ट्विनअटरमध्ये एउटा वर्षौँदेखि ग्राउन्डेड छ । त्यो मर्मत गरेर चलाउनु त कता हो कता उडानयोग्य दुईवटा ट्विनअटरमध्ये पनि एउटा ग्राउन्डेड छ । यी दुई जहाज चलाउन चार क्याप्टेन र चार कोपाइलट आवश्यक पर्छ । तर, क्याप्टेन चारजना नै भए पनि कोपाइलट तीनजना मात्रै छन् । यसअघि पाँचजना कोपाइलट रहेकामा दुईजनालाई एयरबस ३२० मा पठाइयो । त्यसो भएपछि एउटा ट्विनअटर मात्रै उडानमा छ ।

त्यस्तै, निगमसँग दुईवटा एमए ६० जहाज छन्, तीमध्ये एउटा ग्राउन्डेड भएको दुई वर्ष भइसकेको छ । दुईवटा जहाज उडाउन ६ क्याप्टेन चाहिनेमा चार क्याप्टेन मात्रै छन् । यसअघि ६ जना क्याप्टेन नै रहेकोमा दुईजनालाई एयरबस ३३० मा पठाइयो । त्यस्तै, कोपाइलट पनि ६ जना नै चाहिनेमा पाँचजना छन् । दुईजना कोपाइलटलाई पनि ३३० मा पठाइयो । एउटा जहाज ग्राउन्डेड भएकाले अर्को एउटा उड्नका लागि भने पर्याप्त पाइलट छन् ।
नयाँपत्रिका दैनिकबाट

Advertisement

Advertisement

Advertisement