सुक्खा बन्दरगाह निर्माण अन्योलमा

Advertisement

काठमाडौं । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ ।

बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार सात सय मिटर पहुँचमार्ग पनि नेपाल सरकारले निर्माण गरिसकेको छ । अन्य भौतिक संरचना निर्माणमा भारतीय सरकारले लगानी गर्नुपर्ने हो । तर भारतीय पक्षले चासो नदेखाउँदा निर्माणले गति लिन नसकेको नेपालगञ्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले बताए ।

उनका अनुसार पछिल्लोपटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दशगजासँगै जोडेर आफ्नो क्षेत्रमा तारबार गरेको हो । “भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको देखिन्छ”, इञ्जिनीयर भुसालले भने, “भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन ।”

इञ्जिनीयर भुसालका अनुसार पहुँचमार्ग निर्माणको काम पूरा भएको छ  । “हामीले पहुँचमार्ग निर्माणको काम पूरा गरिसकेका छौँ, बाँकी काम भारत सरकारले गर्नेछ”, उनले भने, “यो आर्थिक वर्षमा कुनै पनि काम भएको छैन ।” पछिल्लोपटक भारतीय अधिकारीले काम पूरा गर्न बोलपत्रको प्रक्रियामा रहेको जानकारी पाएको उनले बताए ।

भारतीय लगानीमा निर्माण भइरहेका कारण लागत र पूर्ण डिजाइनबारे नेपालका अधिकारी अनभिज्ञ छन् । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बन्दरगाह निर्माणमा भारतीय पक्षबाट सोचेअनुसार काम नभएको बताए । “भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन”, उनले भने, “सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।”

उनले भारतमा निर्वाचन सकिसकेकाले छिट्टै काम शुरु हुने विश्वास व्यक्त गर्दै भने, “निर्वाचनका कारण काममा ढिलाइ भएको हुनसक्छ, अब छिटो काम हुने आशा गरेका छौँ । मन्त्रालयबाट नै छिटो काम अगाडि बढाउन पहल आवश्यक देखिएको छ ।” केन्द्रीय सदस्य श्रेष्ठले यस विषयमा बारम्बार छलफल भइरहेको बताए ।

उहाँले नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माणमा भइरहेको ढिलाइ मन्त्रालय तहबाटै पहल गर्नुपर्नेमा जोड दिए । बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोस्ट (आइसीपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम शुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । नेपाली तथा भारतीय व्यवसायीले पनि विनाझन्झट नेपाल तथा भारतबाट विभिन्न सामान निर्वाधरूपमा आयात निर्यात गर्न सक्ने जनाइएको छ ।

नयाँदिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगञ्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जयसपुरलाई रोजिएको हो । बन्दरगाह सञ्चालन भए आयात सहज हुने र यहाँका जडीबुटी र उत्पादन निकासी गर्न सरल हुने जनाइएको छ । तर बन्दरगाह निर्माणको काम अगाडि बढ्न नसक्दा स्थानीय उद्योगी व्यवसायी चिन्तित भएका छन् ।

बन्दरगाह निर्माणका लागि सरकारले आर्थिक वर्ष २०६५/६६ मा ८९ बिघा जमीन अधिग्रहण गरे पनि निर्माणकार्यले गति लिन नसकेपछि अधिग्रहण गरिएको जग्गासमेत गौचरनजस्तै बनेको छ । हालसम्म निर्माणको काम शुरु हुने कुनै सङ्केत नदेखिएकाले अन्तिम समयमा भारतले काम अलपत्र पार्ने हो कि भन्ने चिन्ता सर्वत्र बढ्न थालेको व्यवसायीले जनाएका छन् ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले सुक्खा बन्दरगाह निर्माणमा देखिएको अन्योलता र ढिलाइले जडीबुटी व्यवसायी निकै दुखी भएको जनाउँदै सरकारले छिटोभन्दा छिटो निर्माण गर्न भारतसँग पहल गर्नुपर्ने बताए । उनले सुक्खा बन्दरगाह निर्माणपछि यहाँका व्यवसायीलाई सहज हुने बताए ।

सुक्खा बन्दरगाह परिसरमा भन्सार कार्यालय, सुरक्षा पोष्ट, क्वारेन्टाइन कार्यालय, बैंक काउण्टर, खाद्य प्रविधिलगायत सरोकार राख्ने सरकारी कार्यालय रहनेछन् । यसले सामान आयात र निर्यात गर्न व्यापारीलाई सहज हुने नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले बताए ।

Advertisement

Advertisement

Advertisement