अल्जेरिया–पोर्चुगलबीच ग्यास खरिदसम्बन्धी सम्झौता

Advertisement

अल्जेरिया । अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी १० वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मंगलबार हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक दुई अर्ब ५० करोड घनमिटर प्राकृतिक ग्यास बिक्री गर्नेछ । अल्जेरिया र पोर्चुगलबीच सन् १९९४ मा साझेदारी सम्झौता भएको थियो । यो सम्झौता हरेक १० वर्षमा नवीकरण हुने गर्छ । सम्झौतापछि जारी विज्ञप्तिमा पोर्चुगलका निम्ति अल्जेरिया नै सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता मुलुक हुने जनाइएको छ ।

गत मे १६ मा सोनाट्राकले इटालीको विशाल ग्यास कम्पनी ईएनआईलाई ग्यास आपूर्ति गर्नेसम्बन्धी दसवर्षे सम्झौता गरेको थियो । अल्जेरियाले वार्षिक करिब एक खर्ब ३० अर्ब घन मिटर ग्यास उत्पादन गर्छ । उक्त ग्यासमध्ये करिब ५० अर्ब क्युबिक मिटर ग्यास विदेशमा निर्यात हुने गरेको छ ।

तेलको धनी मुलुक अल्जेरियाले युरोपेली मुलुकमा आवश्यक ग्यासमध्ये करिब १४ प्रतिशत हिस्सा ओगटेको छ ।

Advertisement

Advertisement

Advertisement