हुवावेले ‘पट्याउन मिल्ने स्मार्टफोन’ सार्वजनिक गर्ने मिति सार्‍यो

Advertisement

चीन । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले ‘पट्याउन मिल्ने स्मार्टफोन’ सार्वजनिक गर्ने मिति सेप्टेम्बरका लागि सारेको छ । यसअघि हुवावेईले यो स्मार्टफोन सन् २०१९ को मध्यमा सार्वजनिक गरिने बताएको थियो । केही सञ्चार माध्यमले उक्त स्मार्टफोन जुनमा आउने बताएका थिए । तर, प्रतिस्पर्धी सामसङको ‘पट्याउन मिल्ने स्मार्टफोन’मा समस्या देखिएसँगै हुवावेईले केही समय यो स्मार्टफोनको परीक्षण गर्ने निर्णय गरेको हो ।

शुक्रवार कम्पनीका अधिकारीले यो स्मार्टफोन सेप्टेम्बरमा विश्वभर सार्वजनिक हुने बताएका छन् । नयाँ पुस्ताको इन्टरनेट ५जी इन्टरनेट भएका शहरलाई केन्द्रित गरी यो स्मार्टफोन ल्याइएको हुवावेईले बताएको छ । यो स्मार्टफोनको मूल्य करीब २ हजार ३०० डलर र ५जी सपोर्ट गर्ने स्मार्टफोनको २ हजार ६०० डलर पर्ने उल्लेख छ । गत फेब्रुअरीमा प्रदर्शन गरिएको यो स्मार्टफोन अहिलेसम्म विक्रीका लागि बजारमा आउन सकेको छैन । सामसङको पट्याउन मिल्ने स्मार्टफोनमा खराबी देखिएसँगै आफ्नो फोन निर्माणमा निकै सावधानी अपनाइएको हुवावेईका प्रवक्ताले बताएका छन् । आफ्नो लोकप्रियतामा असर पर्ने गरी कुनै पनि उत्पादन सार्वजनिक नगरिने उनको धारणा छ ।

यो स्मार्टफोनले कम्पनीको व्यापारमा उल्लेख्य सुधार आउन सक्ने अपेक्षा छ । यसअघि हुवावेले आफ्नो ल्यापटप सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेको थियो । हुवावेईले अहिले ल्याउन लागेको मेट एक्स गूगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्नेछ । हुवावेईलाई अमेरिकाले कालोसूचीमा राख्नुपूर्व नै यो स्मार्टफोन सार्वजनिक गरिएकाले यो गूगलको अपरेटिङ सिस्टममा चल्ने भएको हो ।

Advertisement

Advertisement

Advertisement