पाल्पाका महिलाहरूले ‘डेरी फार्म’ सञ्चालन गरे

Advertisement

पाल्पा । रामपुर नगरपालिका–१० का महिलाहरूले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन गरेका हुन् ।

डेरी सञ्चालन गरी घरबाटै दूध सङ्कलन गरी बजारमा बिक्री गरिदै आएको छ । यहाँ सङ्कलित दूध स्याङ्जाको गल्याङ बजारमा खपत हुँदै आएको छ । सहकारीमा आबद्ध शेयर सदस्यले उत्पादन गरेको दूधलाई सहज रूपमा बजारसम्म लैजान डेरी सञ्चालन गरेको अध्यक्ष सीता देवकोटाले बताइन् । दूध नबिक्ने समस्याले महिलालाई पिरोल्न थालेपछि दूध व्यवस्थापन र आर्थिक अवस्था उकास्न डेरी शुरू गरेको उनको भनाइ थियो ।

सहकारीमा आबद्ध सदस्यको घरबाट दूध सङ्कलन गरेका छौं, सहकारीबाहेकका कृषकले उत्पादन गरेका दूध खरीद गरेर बिक्री गर्ने योजना छ, उनले भनिन् । स्थानीय बजारमा दूध कम खपत हुँदा बिक्री गर्न कृषकले समस्या भोग्दै आएका थिए । अहिले सहकारीले डेरी सञ्चालन गरी दूध खरीद–बिक्री गर्न थालेपछि सजिलो भएको लक्ष्मी ओस्ती बताउँछिन् ।

पहिला दूध बिकाउनै समस्या थियो बजार नजिक थिएन, सहकारीले डेरी चलाएपछि दूध नबिक्ने समस्या हटेको छ, उनले भनिन् । उनको घरमा पाँच वटा उन्नत जातका भैँसी छन् । दैनिक २० लिटर दूध बिक्री गरी मासिक ८० हजार रुपियाँसम्म कमाइ हुने गरेको ओस्तीले बताइन् । दूध बिक्रीबाटै घरायसी खर्च, छोराछोरीको पढाइ खर्च चलाउन सजिलो परेको उनको अनुभव छ ।

त्यसैगरी सोही ठाउँकै अनिता भण्डारीले पनि दूध बिक्रीबाट राम्रो कमाइ गर्छिन् । दैनिक १५ लिटर दूध बिक्री गरी मासिक ४० हजार आम्दानी गरेको उनले बताइन् । महिलाहरूले उत्पादन गरेको दूध बिक्री गर्न सहज होस् भनेर दुई लाख ५० हजारको लागतमा सो डेरी सञ्चालन गरेको सहकारीले जनाएको छ ।

सहकारीमा आबद्ध पाँच जना महिलाले व्यावसायिक रुपमा पशुपालन गरेका छन् । दूध बिक्रीको व्यवस्था सहकारीले गर्न थालेपछि अन्य महिलाले पनि पशुपालनलाई व्यावसायिक तवरले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । डेरीबाट दुई जना स्थानीयलाई रोजगार मिलेको छ ।

Advertisement

Advertisement

Advertisement