अस्पतालजन्य फोहर व्यवस्थापनको चुनौती

Advertisement

बाँके । जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको एक सय ५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

तराई मानव अधिकार रक्षक सञ्जाल ‘थर्ड एलायन्स’ को पहलमा विज्ञको टोलीले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन वैज्ञानिक र व्यवस्थित नभएको निष्कर्ष निकालेको छ । अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाडामा चिह्न नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका उपप्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख आलम खानले बताए ।

अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पर्ने निष्कर्ष अध्ययनले निकालेको छ । यस सम्बन्धमा सो अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीसँग सम्पर्क राख्दा उनले नेपालगञ्ज उपमहानगरपालिकाले फोहर लिन नमानेपछि समस्या आएको गुनासो गरे । “यो समस्या हाम्रो अस्पतालको मात्र होइन, नेपालगञ्जका सबै अस्पतालको अवस्था अहिले यस्तै छ । उपमहानगरपालिकाले कुनै अस्पतालको फोहर पनि सङ्कलन गरेको छैन”, उनको भनाइ थियो ।

फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम अस्पतालजन्य फोहर अन्य फोहरसँग मिसाउन पाइँदैन । त्यसका लागि सबै अस्पतालमा फोहर प्रशोधन प्लान्ट हुनु आवश्यक छ तर, नेपालगञ्जका कुनै पनि अस्पतालले प्लान्टको व्यवस्था गरेका छैनन् ।

नेपालगञ्जमा करीब ३० टन फोहर भण्डारण गर्न सक्ने डम्पिङसाइट भए पनि अस्पतालको फोहर नेपालगञ्ज उपमहानगरपालिकाले उठाएको छैन । “अरु फोहरसँग अस्पतालजन्य फोहर मिसाउनै पाइँदैन । त्यसैले यो अवस्था आएको हो, तै पनि हामी अरु के उपाय गर्न सकिन्छ त्यसमा छलफल गर्दैछौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भने ।

Advertisement

Advertisement

Advertisement