ओरालो लाग्दै वैदेशिक रोजगारी

Advertisement

काठमाडौं । सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको छ । पछिल्ला चार महिनामा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या निरन्तर घटेको सरकारी आँकडा छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला गरी ४३ हजार ६५४ युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् । वैशाखमा भने ४५ हजार ८७८ पुरुष र दुई हजार ८७८ महिला गरी ४८ हजार ७५६ युवा बाहिरिएका थिए । त्यसैगरी चैतमा ४२ हजार १८६ पुरुष र दुई हजार ७१९ महिला गरी ४४ हजार ९०५ तथा फागुनमा ४१ हजार ९०५ पुरुष र दुई हजार ७८३ महिला गरी ४४ हजार ६८८ युवा रोजगारीका लागि विदेश गएका थिए ।

जेठमा १७ हजार ४३१ पुरुष र एक हजार ५२१ महिला गरी १८ हजार ९५२ युवा संस्थागत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । सोही अवधिमा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २१ हजार ३८३ पुरुष र ८५५ महिला रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ६१५ पुरुष र २५४ महिला गरी ८६९ युवा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

वैधानिकीकरण गरी कामको स्वीकृति लिने युवाको सङ्ख्या पनि उल्लेखनीय देखिएको छ । गत महिना एक हजार ४७२ पुरुष र १२३ महिला गरी एक हजार ५९५ युवाले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिएका छन् । गत वर्ष सोही अवधिमा ४६ हजार ७१७ पुरुष र दुई हजार ५८२ महिला गरी कूल ४९ हजार २९९ युवा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

चालु आर्थिक वर्षमा सरकारले बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ र युवा उद्यमशीलता प्रवद्र्धन गर्न विभिन्न प्रकारका सहुलियत कर्जा कार्यक्रम ल्याएको छ । त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उनीहरुले सिकेका सीपका आधारमा स्वरोजगार बन्नका लागि सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न शुरु गरिसकेको छ । सरकारले ल्याएको युवा लक्षित कार्यक्रमको प्रभावका कारण नै वैदेशिक रोजगारीमा जाने क्रम घटेको सरकारी अधिकारीको जिकिर छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष र सीपयुक्त बनाएर पठाउने नीति लिइएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको सङ्ख्या भने निकै ठूलो रहेको पाइएको छ । विभागका अनुसार जेठमा २३ हजार ३३६ पुरुष र एक हजार ६६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएको विभागले जनाएको छ । सोही अवधिमा १३ हजार ८०५ पुरुष र ७९८ महिला गरी १४ हजार ६०३ दक्ष कामदार श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी तीन हजार ६७८ पुरुष र २८५ महिलासहित तीन हजार ९६३ अर्धदक्ष, व्यावसायिक सीप हासिल गरेका ७६ पुरुष र तीन महिला तथा उच्च सीपयुक्त छ पुरुष श्रम स्वीकृति लिई विदेश गएका छन् ।

पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका श्रमिकलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति अख्तियार गरेको छ । विभागले यही असार १५ गतेदेखि १२ प्रकारका कामका लागि सीप सिकेको प्रमाणपत्र पेश गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ । सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजागर बोर्डमार्फत सीपयुक्त बनाउने सरकारको तयारी छ ।

गत जेठमा व्यक्तिगत ठगीका ६४ उजुरी विभागमा दर्ता भएका छन् । वैशाखसम्म विभागमा व्यक्तिगत ठगीका कूल ६५७ उजुरी परेका थिए । व्यक्तिगत ठगीतर्फ रु सात करोड ६१ लाख १३ हजार ७५० जिकिर गरिएको छ । जेठमा व्यक्तिगत ठगीका ३३ उजुरीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो । त्यसैगरी विभागमा गत महिनामा संस्थागत १०० उजुरी परेका छन् । संस्थागत उजुरीबापत रु दुई करोड १९ लाख ४१ हजार ८५ दावी गरिएको छ ।

Advertisement

Advertisement

Advertisement