यसअघि सम्पन्न हुने भनिएको गौतम बुद्ध विमानस्थलको म्याद फेरि थप्ने तयारी

Advertisement

भैरहवा । पटक पटक निर्माण सम्पन्न हुन लागेको बताइँदै आएको गौतम बुद्ध विमानस्थलको म्याद फेरि थप्ने तयारी गरिएको छ । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले २०७५ सालभित्र आयोजना सम्पन्न भइसकेका बताएका थिए । त्यसपछि आयोजना वैशाख र जेठभित्र सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताउँदै आए पनि निर्माण सम्पन्न नभएपछि म्याद थप्न लागिएको हो ।

पछिल्लो पटक थपिएको आयोजनाको म्याद जुन २८ सम्म छ । आयोजनाको धावनमार्ग सम्पन्न भए पनि अरु कामहरु सक्ने समय लागेकाले म्याद थप गर्न लागिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस विमानस्थल निर्माण केही ढिलाई हुनुमा चिनियाँ ठेकेदार र सहठेकेदारबीचको विवाद र लापरवाही, मधेस आन्दोलन, निर्माण सामग्रीको अभाव जस्ता कारण रहेको आयोजनाका प्रमुख प्रवेश अधिकारीको भनाई छ ।

उनका अनुसार काम सक्न झण्डै छ महिना समय लाग्ने देखिएकाले म्याद थपका लागि आग्रह गरिएको हो । आयोजनाका बाँकी कामका लागि उपकरणहरु ल्याएर जडान गर्ने बाँकी रहेको छ । त्यस्ता उपकरणहरु दशैसम्म आइपुग्ने र जडान गर्नसमेत गरी करिव छ महिनाको समय लाग्ने अनुमान आयोजनाको छ ।

आयोजनाको समय थप भए पनि लागत भने थप नहुने जनाइएको छ । आयोजनाको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभियसनले छ अर्ब २२ करोडमा निर्माणको ठेक्का लिएको यो आयोजना तुलनात्मकरुपमा चाँडै सम्पन्न भएको हो । यसको यसअघि एक पटक मात्रै म्याद थप भएको छ ।

गौतमबुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय टर्मिनल भवनको छाना हालेर रंगरोगन गर्ने, प्रस्थान कक्षको भवनमा छाना हाल्ने, प्रशासनिक भवनमा विद्युतीय वाइरिङ गर्ने, कन्ट्रोल टावरको अन्तिम तल्लाको निर्माण सम्पन्न गर्ने, साना तिना मार्किङ गर्ने जस्ता काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement