'चाकडी गर्ने र फाइल साइन गराउन छ ठाउँ डुलाउने राणाकालिन कर्मचारीतन्त्रले विकास हुन्न’

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको कर्मचारीतन्त्रको संरचना विकासमुखी नभएको भन्दै यसलाई सुधार्ने यही मौका भएको बताएका छन् । शुक्रबारको संसदमा बोल्दै उनले कर्मचारी संयन्त्रलाई सुधार नगर्दासम्म विकासले गति नलिने बताए ।

भट्टराईले कर्मचारी संयन्त्रले काम नगर्दा बजेट कार्यान्वयनमा पनि समस्या आउने गरेको बताउँदै नेपालको कर्मचारी प्रशासनको संरचना र कार्यशैली निकै पूरानो भएको यसलाई नफेर्दासम्म विकास हुन नसक्ने बताए । राणाकालमा बनेको ब्युरोक्रेसी विकासमैत्री नभएको उनको तर्क छ ।

अहिलेको कर्मचारीतन्त्रलाई भत्काएर नयाँ बनाउनुपर्ने बताउँदै भट्टराईले ढंगको कर्मचारी संरचना त्यसका लागि सरकारसँग आँट हुनुपर्ने बताए । उनले भने, ‘प्रक्रियामुखी कर्मचारी संरचनाले विकास हुन सक्दैन, यसलाई फेर्नैपर्छ ।’ चाकडीको आधारमा बनेको ब्युरोक्रेसी नभत्किएसम्म विकासमा प्रभाव पर्छ भन्दै उनले एउटा फाइललाई ६ ठाउँमा साइन गराउँदै डुलाउने व्युरोक्रेसीले विकास नहुने बताए ।

भट्टराईले बजेटमा भ्रष्टाचार नियन्त्रण गर्ने कुनै संयन्त्र नराखिएकाले नीतिगत भ्रष्टाचार कायमै रहने भन्दै नीतिगत भ्रष्टाचारको स्वरुप निकै डरलाग्दो रहेको बताए । उनले भने, ‘हामीले आफ्नै मान्छे टिको लगाएर अख्तियार लगायतका निकायमा राख्छौं, अनि हामीले नै नियुक्ति गरेका मान्छेले के कारबाही गर्छन ?’ व्याप्त भ्रष्टाचार नरोकिएसम्म जनताले सरकार र राजनीति दलहरुलाई विश्वास नगर्ने बताउँदै

अहिले देशको आवश्यकता भनेको कछुवाको गतिमा नभई वायुपंखी घोडाको गतिमा अर्थतन्त्रलाई कुँदाउनु पर्ने बेला हो भन्दै भट्टराईले सन् २०२२ सम्म अल्पविकसित देशबाट विकासशिल मा पुग्ने, सन् ३० सम्म मध्यम आय भएको स्थानमा पुग्ने र सन् ४० सम्म विकसित अवस्थामा पुग्ने भन्ने हाम्रो साझा लक्ष्य भेट्टाउने अहिलेको तरिकाले नसकिने बताए ।

बजेट भनेको आय व्ययको हिसाव किताव मात्र होइन्, सामाजिक र राजनीतिक विषय पनि हो भन्दै उनले सरकारले पूराना बजेट हेरेर अहिलेको राम्रो आयो भनेर सन्तोष गर्न नहुने बताए । अर्थतन्त्रको विषय एउटा पार्टीको वा व्यक्तिको कुरा नभएर समग्र देशको कुरा भएको बताउँदै भट्टराईले बजेटमा पनि क्रमभंगता जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement