नेपाल टेलिकमको एफटीटीएच सेवा धनकुटामा  सुरु

Advertisement

काठमाडौं । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ । कम्पनीले गत शुक्रबार एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो ।

धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गरे । उनले ०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आव्हान पनि गरे ।

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निमित्त प्रबन्धक रामनरेश कुँवरले एफटीटीएच प्रविधिका विशेषता र वितरणका बारेमा जानकारी प्रदान गरेका छन् ।
हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ । आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको रहेको छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नुहुनेछ । साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement