काठमाडौं–निजगढ द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको सेनालाई निर्देशन

Advertisement

काठमाडौं । काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई संसदीय समितिले निर्देशन दिएको छ । फाष्ट ट्रयाक भ्याटसमेत गरेर १ खर्ब ७५ अर्ब १९ करोडको लागतमा तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिईएको हो ।

७२ किलोमिटर लम्बाईमा निर्माण हुँन लागेको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले सो आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई सचेत गराएको छ।

समितिको सोमबारको बैठकमा सो आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डिपीआर मन्त्रिपरिषद बैठकबाट स्वीकृत नभएकाले सो आयोजनाको पुल र सुरुङ निमाणको कामलाई बढाउन समस्या भएको जानकारी गराएका थिए।

आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। उनले मन्त्रिपरिषद बैठकमा पेश गरेको सो आयोजनाको डिपीआर तत्काल स्विकृत गरी नेपाली सेनालाई दिन समितिले सरकारलाई सचेत गराएको बताइन्।

बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको लागत र समय दुवै बढने भन्दै चिन्ता व्यक्त गरेका थिए। ‘नेपाली सेनाले आगामी २ वर्ष भित्र सो आयोजना निर्माणको काम सम्पन्न गर्न सक्दैन’, समितिका सदस्य गणेश पहाडीले भने, ‘अहिलेसम्म पुल र सुरुङ निर्माणको काम सुरु नभएकाले पनि सो आयोजनाको काम आगामी २ वर्ष भित्र नेपाली सेनाले सम्पन्न गर्न नसक्ने मेरो निष्कर्ष छ।’

समितिका अर्का सदस्य जिपछिरिङ लामाले सो आयोजनाको काम आगामी ५ वर्ष भित्र पनि नेपाली सेनाले सम्पन्न गर्न नसक्ने दावी गरेका थिए। उनले नेपाली सेनाले हालसम्म गरेको काम सन्तोषजनक नरहेको उल्लेख गर्दै त्यसको लागत पनि बढेर जाने चिन्ता व्यक्त गरे।

आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेश गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपीआर स्विकृतिमा ढिलाई भए सो आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराएका थिए। उनले सुरुङ र पुल निर्माणको कामबाहेक अन्य कामलाई भने दू्रत गतिका साथ अघि बढाइएको बताए।

नेपाली सेनाले सुरुङ निर्माणका कारण सो आयोजनाको लागत बढन सक्ने पनि अनुमान गरेको छ। २०७८ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको लागत बढेर पौने २ खरव पुग्ने नेपाली सेनाको अनुमान छ।

Advertisement

Advertisement

Advertisement