भार्गव र पूर्णिमा शाइन रेसुङ्गामा बिलय हुने, तीनवटैको एकै दिन विशेष साधारणसभा

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकको विशेष साधारणसभा एकै दिन असार २७ गते हुने भएको छ । तीन वटै संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति स्थान र समय तय गरेको हो ।

शाइन रेसुङ्गाको साधारणसभा एशियन भिलेज रिसोर्ट प्रालि इटाभट्टी बुटवलमा बिहान ११ बजे, पूर्णिमाको होटल पौवा सिद्धार्थनगर रुपन्देहीमा बिहान ११ बजे र भार्गवको होटल सिद्धार्थ भ्यू प्रालि, नेपालगञ्ज बाँकेमा बिहान ११ बजे हुनेछ ।

साधारणसभाबाट रेसुङ्गा डेभलप्मेन्ट बैंकले भार्गव र पूर्णिमा विकास बैंकलाई प्राप्ति गर्न दुबैं बैंकको चल अचल सम्पतिको मूल्याङ्कन प्रतिवेदन अनुमोदन गरी दुबै बैंकको शेयरमुल्य (स्वाप रेशियो) समेत निर्धारण गर्ने भएको छ ।

साधारणसभाबाट दुइ बिकास बैंकलाई प्राप्ति गर्ने सम्झौता बमोजिम आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निबेदन दिन तथा अवश्यक सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

त्यस्तै बैंकले एक्वीजिसनपश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत सभाबाट अनुमोदन गराउने भएको छ । बैंकले आफ्नो अधिकृत, जारी र चुक्ता पुँजीबृद्धि गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लैजादै छ ।

भार्गव र पूर्णिमा विकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको संस्थापक र सर्बसाधारण समूहको शेयर स्वामित्व परिवर्तन हुने हुँदा सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावपनि बैंकले लैजाँदै छ ।

हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुइ विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्रिय स्तरको विकाश बैंक बन्ने भएको छ । एकिकृत बैंकको प्रधान कार्यलय बुटवलमा रहने छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले असार १९ गतेदेखि साधारणसभासम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । असार १८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको बिशेष साधारणसभामा भाग लिन पाउनेछन ।

उता पूर्णिमा र भार्गवको विशेष साधारण सभाले साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्राप्ती(एक्वीजिशन) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । यता शाइनको विशेष साधारण सभाले पनि पूर्णिमा र भार्गवलाई प्राप्ती गर्ने विशेष प्रस्ताव नै पारिने गर्नेछ ।

शाइन रेसुङ्गा बैंकसँग बेचिने सहमति गरेपछि हाल भार्गव र पूर्णिमा विकास बैंकको दोस्रो बजारमा शेयर कारोबार रोक्का राखिएको छ । अब एक्वीजिसन सम्बन्धि सम्पूर्ण प्रकृया सकिएपछि मात्र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रुपमा शेयर कारोबार खुल्नेछ ।

Advertisement

Advertisement

Advertisement