किसानलाई अनुदानमा कृषि उपकरण

Advertisement

काठमाडौं । बैतडीको पाटन नगरपालिका वडा नं ६ को कार्यालयले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । वडामा रहेका सात कृषि समूहलाई मागको आधारमा अनुदानमा कृषि उपकरण वितरण गरिएको वडाअध्यक्ष राजेन्द्रसिंह विष्टले बताए ।

५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्र्याक्टर वितरण गरिएको उनले बताए । किसानको समय बचत होस् र उनीहरूलाई कृषिकर्ममा सजिलो होस् भन्ने उद्देश्यले कृषि उपकरण वितरण गरिएको हो । कृष्ण तरकारी तथा खाद्य समूह, हरियाली महिला कृषक समूह र सिद्धनाथ कृषक समूहलाई हातेट्र्याक्टर वितरण गरिएको वडाअध्यक्ष विष्टले बताए।

यस्तै सहस्त्रलिङ्ग कृषि समूह, कैलपाल कृषि समूह, प्रगतिशील उपभोक्ता समूह र नागार्जुन कृषि समूहलाई हातेट्र्याक्टर वितरण गरिएको छ । अनुदानमा कृषि उपकरण पाउँदा आफूहरूलाई सहज हुने सहस्त्रलिङ्ग कृषि समूहका अध्यक्ष बेलु भण्डारीले बताए । अनुदानमा हातेट्र्याक्टर पाएपछि खेत जोत्नका लागि सजिलो हुने कृष्ण तरकारी तथा खाद्य समूहका अध्यक्ष गीता विष्टको भनाइ छ ।

कृषि उपकरणले महिलाको घरायसी कार्यबोझमा कमी आउने भएकाले अनुदानमा कृषि उपकरण वितरण गरिएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताए । छ लाखको लागतमा कृषि उपकरण खरीद गरिएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement