नेपालगञ्ज उपमहानगरपालिकाको बजेट रु दुई अर्ब २८ करोड

Advertisement

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६र७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ।

नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गरेकी हुन्।

गत आव २०७४/७५ मा आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु १२ करोड ११ लाख ३७ हजार राजश्व असुल भई करीब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेट वक्तव्यमा उल्लेख छ।

हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत बजेटमा आन्तरिक स्रोत अनुमानको ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्ति हुने पनि अनुमान गरिएको छ। आगामी आगामी आवको आन्तरिक स्रोतको आय अनुमान रु १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ। आगामी आवमा एशियाली विकास बैंक, नगरविकास कोष र बाह्य स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु रु एक अर्ब आठ करोडसमेत गरी कूल आय रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो।

यसैबीच बाँकेको कोहलपुर नगरपालिकाले आगामी वर्ष २०७६/७७ को लागि रु ८० करोड ६१ लाख १७ हजार ४२२ को बजेट प्रस्तुत भएको छ। नगरउपप्रमुख सञ्जुकुमारी चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ १४ करोड ७७ लाख ६१ हजार र पूँजीगततर्फ ५३ करोड २१ लाख ४७ हजार ६०६ विनियोजन गरिएको छ। नगरप्रमुख लुटबहादुर रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।

Advertisement

Advertisement

Advertisement