विभिन्न कम्पनी र व्यक्तिविरुद्ध एक अर्बभन्दा धेरै राजस्व छली गरेको आरोपमा मुद्दा दायर

,   १२ असार २०७६, बिहीबार, ०३:३४ pm   
rajaswo
heli

काठमाडौं । राजस्व अनुसन्धान विभागले विभिन्न व्यक्ति तथा फर्मविरुद्ध एक अर्बभन्दा धेरै राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । लुम्बिनी पान मसला तथा गुट्खा उद्योग कृष्णनगरले वितरक तथा थोक वितरकको संलग्नतामा पानकिङ ब्राण्डको सुर्तीजन्य मसलामा नक्कली स्टिकर बनाएर अन्तशुल्क कर छलेको आरोपमा ८७ करोड ५५ लाख ७४ हजार रुपैयाँ विगो दाबी गरेर बारा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले मोहम्मद मुसलमानलाई ३३ करोड ५३ लाख रुपियाँ, पश्चिमाञ्चल ट्रेडर्सका मोहम्मद रेहानलाई २२ करोड ९४ लाख र साइन ट्रेडर्सका भरत अधिकारीलाई दुई करोड ३६ लाख रुपियाँ विगो तथा जरिबाना माग गरि राजस्व छलीको मुद्दा दायर गरिएको जनाएको छ ।

यस्तै भारतीय नागरिक बन्दना सनी पोटफोडेविरुद्ध विदेशी विनिमय अपचलनको आरोपमा तीन वर्ष कैद तथा १० करोड रुपियाँ विगो र जरिबाना माग गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनले केही नेपाली नागरिकसँग मिलेर विदेशी विनिमय अपचलन गरेको विभागको दाबी छ ।

यस्तै काठमाडौंको एच एण्ड बी ट्रेड कन्सर्न कम्पनीका विरेन्द्रबहादुर कुर्मी क्षेत्रीले पनि नक्कली विजक बनाएर राजस्व छली गरेको आरोपमा तीन वर्ष कैद र तीन करोड ९७ लाख रुपियाँ विगो तथा जरिवाना माग गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।