विकासशील मुलुकका लागि हुनुपर्ने मापदण्ड नेपालले करिव पूरा गरिसक्योः खतिवडा

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विकासशील मुलुकमा हुने मापदण्ड नेपालले करिव पूरा गरिसकेको दावी गरेका छन् । विश्व बैंकका उपाध्यक्ष तथा महालेखापरीक्षक एन्के डि एन्जेलोसँग बिहीबार अर्थमन्त्रालयमा कुरा गर्दै उनले यस्तो दावी गरेका हुन् ।

मुलुकको दीर्घकालीन सोचका बारेमा एन्जेलोले राखेको जिज्ञासामा खतिवडाले नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको बताएका बताए ।

विश्व बैंकले आगामी दिनमा पुर्याउन सक्ने थप सहयोगको अपेक्षासहित उनले नेपाल सरकारले प्रक्षेपण गरेबमोजिम आगामी केही वर्ष दिगोरुपमा उच्च आर्थिक बृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिने बताए ।

खतिवडाले संघीय संरचना अनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले इमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने बताए ।

सो अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र स्रोतको आवश्यकता पर्ने भन्दै उनले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंक लगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने बताए ।

सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको बताउँदै उनले यसका लागि बिश्व बैंकको सहयोगको निरन्तरता रहने बताए ।

मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा विश्व बैंकको निरन्तर सहयोगप्रति धन्यवाद दिए । एन्जेलोले खतिवडाको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरुलाई तीव्रताका साथ अगाडि बढेकोमा आफूहरु आशावादी रहेको बताइन् ।

Advertisement

Advertisement

Advertisement