बजेटभन्दा व्यापार घाटा ठूलो, पेट्रोलियम पदार्थ र विद्युतको आयात नै दुई खर्ब ३१ अर्बको

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपियाँ पुगेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा ९.५२ प्रतिशतले बढी हो । कुल ८७ अर्बको निर्यात हुँदा १२ खर्ब ९९ अर्ब रुपियाँ बराबरको आयात भएको छ।

यही वृद्धिदर कायम रहँदा चालु आर्थिक बर्षमा बजेटभन्दा व्यापार घाटा उच्च हुनेछ । चालु आर्थिक बर्षको बजेटको आकार १३ खर्ब १५ अर्ब रुपियाँको रहेको छ । असारमा एक खर्ब चार अर्बको व्यापार घाटा थपिँदा यसको आकार बजेटभन्दा ठूलो हुनेछ । अघिल्लो बर्षभन्दा यस बर्ष ११ महिनामा एक खर्ब दुई खर्ब रुपियाँ बढिले घाटा थपिएको छ ।

आयात थपिने तर निर्यात बढ्न नसक्ने अवस्थाका कारण व्यापार घाटाको चरम रुप लिएको हो । व्यापार घाटामा उच्च वृद्धिपछि सरकारले पछिल्लो समयमा आयातमा केही कडाई गरेको छ । नेपालीहरुमा विलासिताका विदेशी सामानहरुप्रति मोह बढ्दै जाँदा, आन्तरिक उत्पादनमा शिथिलता आउँदा र व्यवसायीहरुमा पनि उद्योग खोलेर जोखिम लिनेभन्दा आयात गरेर चाँडै नाफा कमाउने प्रवृत्ति मौलाउँदा व्यापार घाटामा सन्तुलन ल्याउन नसकिएको हो ।

निर्यात केही बढेको देखिए पनि आयातको तुलनामा यसको प्रभाव न्यून मात्रै रहेको छ । गत वर्षको ११ महिनाको तुलनामा यसपालि निर्यात १८.१८ प्रतिशत बढेको छ । निर्यातमा सबैभन्दा बढी पशुजन्य बोसो, तेल तथा वेक्स बढी छन् । यो जम्मा १० अर्ब ९९ करोड रुपियाँ निर्यात छ भने सोही वस्तुको आयात भने ३३ अर्ब ७२ करोड रुपियाँ छ । त्यसपछि धेरै निर्यात हुनेमा चिया, कफी, मसला छ । यस्ता वस्तु सात अर्ब ६१ करोडको निर्यात भएको छ ।

गएको ११ महिनामा दुई खर्ब ३१ अर्ब ७२ करोड ८० लाख रुपियाँको त इन्धन मात्रै आयात भएको छ जुन निर्यातभन्दा निकै धेरै हो । यसमा विद्युत आयात पनि पर्छ । आयात हुने र परनिर्भरता बढाउने वस्तुको सूचीमा दैनिक उपभोग हुने चामलसमेत छ। समीक्षा अवधिमा अन्न मात्रै ४७ अर्ब ९६ करोड रुपियाँ बराबरको आयात भएको सरकारी तथ्यांकले देखाउँछ।

गएको ११ महिनामा करिब २३ अर्ब रुपियाँको हवाईजहाज, स्पेसक्रफ्ट तथा पार्टपूर्जा आयात भएको छ भने फलाम तथा स्पातको आयात एक खर्ब ७६ अर्ब रुपियाँको रहेको छ । गाडी तथा यस पार्ट्स ८४ अर्ब ४२ करोड रुपियाँ बराबरको आयात भएका छन् । बढ्दो आयातले सरकारलाई विदेशी मुद्राको संचितिमा समेत चाप परेको छ भने शोधनान्तर घाटा बढ्दै गएको छ ।

Advertisement

Advertisement

Advertisement